केहि मुक्तकहरु
उसको आकृति किन होला हेरी रहुँ लाग्छ,
क्यानभासमा उसकै चित्र केरी रहुँ लाग्छ ।
त्यतिमात्र कहाँ हो र हजुर अचेल मलाई,
हरपल उनलाई अँगालोमै बेरी रहुँ लाग्छ ।।
जति हारेपनि जीतको आशा पाल्छु,
परिश्रमले वाधाअड्चन सबै गाल्छु ।
ए दैव दे अझै दु:ख तेरो बस चल्दा,
मेरो दिन फिर्दा तँलाई पक्कै ढाल्छु ।।
उसलाई पोल्ने सारा पीडा हर्न पाउँ दैव,
नैरास्यता झिकी उमङ्ग भर्न पाउँ दैव ।
एकैबारको चोला म तब सफल ठान्छु,
आशा जगाई उसकै भलो गर्न पाउँ दैव ।।
उसको पर्खाईमा पुरा प्रहर जागेछ,
नयनबाट खै किन निदरी भागेछ ।
किन हुन्छ यस्तो भन्देउन ज्ञानी,
यै उमेरमा मलाई के रोग लागेछ ।।
तिम्रो हर उपस्थितीले मेरोमा उत्साह भर्छ,
खै के जादु छ तिम्रो बोलीमा सबै पीडा हर्छ ।
तिमीसँगको सामिप्यता जन्मौजन्म बाँचे,
हरेक अप्ठ्यारा पन्छाउदै भानुले केहि गर्छ ।।
तिमी बिना एक्लै फूल्ने रहर छैन मेरो,
तिमी बाहेक मन अड्ने शहर छैन मेरो ।
मैले बाँच्ने जिन्दगीको आधार हौ तिमी,
तिम्लाई नसम्झेको कुनै प्रहर छैन मेरो ।।
शंकाको गस्ति बढ्यो भने विश्वासले आत्महत्या गर्नु पर्छ,
जत्तिनै चोखो माया देउ तिरस्कारको भुमरी भित्र पर्नु पर्छ ।
बिम्ती गर्छु भन्छु मुटू साटेपछि शंकाको खेती कवै नगर्नु,
तिरस्कृत बनेपछि प्रेमिल मनले उसै ओईलिएर झर्नु पर्छ ।।
तिम्रो साथमा बितेका यी पल औधी स्वर्णिम लाग्छ,
उमंगले मलाई चुम्छ पीडाहरु निस्तेज भएर भाग्छ ।
सत्य बोल्छु जिन्दगीमा तिम्रो आगमन ऊर्जा बन्यो,
त्यसैले सायद हिजो आज उधम गर्न जाँगर जाग्छ ।।
मेरो माया विश्वासको धरोहर तिमी,
उमंगलाई जमाईदिने सरोवर तिमी !
तिमीनै मेरो मुटू बाँच्ने आधारपनि,
घाम पानी ओताउने मेरो घर तिमी !!
दिगो मुस्कान तिम्रो ओठमा जमाउन सकूँ,
संसारका खुशी तिम्रो हातमा थमाउन सकूँ ।
अनिमात्र मेरो जिन्दगी सार्थक हुन्छ प्रिय,
कुशल सारथी बनेर यात्राभरी रमाउन सकूँ ।।
ममताको आँचल फैलाई सधैं सुमार्ग खन्छिन् उनी,
रोकिनु हुन्न रे मेरो कलम चल्नै पर्छ भन्छिन् उनी ।
आभाषित छ मन-मस्तिष्क मेरा कुदिन गए क्यारे,
हरपल मेरै सुख, उन्नतिमा धेरै खुशी बन्छिन् उनी ।।
तिम्रो आगमनले जीवन खास बन्दैछ अचेल,
रेगिस्तानी बसाई'नै मधुमास बन्दैछ अचेल ।
निस्वार्थ तिम्रा समर्पणले नीरस जिन्दगीमा,
पेवाभै जाँगर अनि खुशी दास बन्दैछ अचेल ।।
मित्थ्या जीतको भ्रमले अरुका छाती टेक्छ्न् मान्छेहरु,
पानी माथिको ओबानोभै अरुनै दोषी देख्छन् मान्छेहरु ।
आधुनिक युगका आधुनिक मान्छे मपाईत्व खेती गर्छ,
अरुका उन्नन्तिमा रडाको गर्दै बाटो छेक्छन् मान्छेहरु ।।
आफ्नै रहरले कुनै बेला, आफैलाई दुखाउछ,
पापी मनमा शंका भरेर, यो ज्यान सुकाउछ ।
त्यस्ता रहरलाई काबुमा नराखे कुनै समय,
स्वाभिमानी शीरलाई पनि पक्का झुकाउछ ।।
तिमी छौ साथमा र त जीवन रङ्गीन बन्दैछ,
मात्तिएर रहर तिम्रो बाहुमा हुने दिन गन्दैछ ।
झूट नासिने सत्य मौलाउने सुनौलो बिहानी,
हाम्रो समिप छ मेरो विश्वासले यस्तै भन्दैछ ।।
अनेकन रहर काखी च्यापेर जिन्दगी भाग्दैछ,
पुग्छु म एकदिन शिखर यहि विश्वास लाग्दैछ ।
तिमीसँगको सामिप्यताले मौलिदै ग'को छु रे,
उसो र पो त यो आत्माले तिम्रै साथ माग्दैछ ।।
तिम्रो कसुर जायजनै मान्ला कानून बिक्यो भने,
अपराधीकै जीतलाई छान्ला कानून बिक्यो भने ।
एकदिन पक्का सत्यले जित्नेछ कलियुगमा पनि,
रावण राजले पलभर धान्ला कानून बिक्यो भने ।।
समर्पणमा जब झूट आउँछ,
विश्वासको ब्रम्हलुट आउँछ ।
पर्दा रहन्न दीर्घायू उसैले त,
एकाकार मुटुमै फुट आउँछ ।।
0 comments