कविता- प्रतिज्ञा
अधुरा सपनाहरुका
कैयन पल्ट मलामी
गएकोछु
र त अब,
फेरि सपना नखेप्ने
निधो गरेकोछु ।
किनकी,
मलाई आफ्नै सपनाको
मलामी पाइला
दोहोराउनु छैन ।
देख्दा मीठा लाग्ने
सपना
समयचक्रमा परावर्तन
हुदा
भोगाइको परिवेश
बदलिदा
चुक बनेर खुशी
अमिल्याउछ
कहर बनेर रहर दुखाउछ
मलाई फेरि
अमिलिनु र दुख्नु छैन
।
सांसारिक रंगमंचको
अभिनय पोख्त मनुवा
बोलाई र गराई बीच
लामो अन्तर साँच्छन्
आवश्यकतामा साष्टाङ्ग
पाउ पर्ने बटुवा
केवल अवसरकै ताकमा
बाँच्छन्
र देखाउछन्
सप्तरंगी सपनाका अजङ
पहाड ।
सपनाका यस्तै अजङ
पहाडको पहिरोमा
छताछुल्ल पुरिएकोछ
मेरो अतीत
मेटिएकोछ मेरा
बिपनाका पाइलाका डोब
र-
सस्कारेकोछु सपनाका
लासहरु
पटक पटक स्वयम् मलामी
बनेर ।
यसैले मैले सपना
नखेप्ने प्रण गरेकोछु
किनकी,
मलाई फेरी चुक बनेर
खुशी अमिल्याउनु छैन
कहर बनेर रहर दुखाउनु
छैन
हो,
फेरी अमिलिनु र दुख्नु छैन ।
0 comments