दोहोरी मुक्तक

सधै मेरो मात्र रचनाले भरिने यो ब्लगको भित्ता आज मेरा सह-यात्री मित्र ज्यु इन्द्रा चाम्लिङ 'खुशे' र अग्रज तीर्थ संगम राई ज्युका भावनाहरुले भर्ने प्रयास गरेको छु । मेरो प्रयास यहाँहरुलाई कस्तो लाग्यो झर्को नमानि प्रतिक्रिया दिने कष्ट गर्नु होला भन्ने अनुरोध गर्दछु ।










म हराए सागर भित्रै पसे जस्तो लाग्यो,
बाध्यताको चपेटामा निक्कै फसे जस्तो लाग्यो !
लाख कोशिस गर्दैछु म बाहिर आउनलाई ,
साधु बन्ने रहर नभै खरानी धसे जस्तो लाग्यो ।। -इन्द्रा चाम्लिङ 'खुशे'

पिरतीको डोरी बाटी तान्नलाई आउँकि लाग्यो,
किन धस्यौ खरानीनै जान्नलाई आउँकि लाग्यो !
वाध्यताको जंजीर तोडी सारा बन्धन मुक्त पार्न,
सारा जोश मार्ने शंका छान्नलाई आउँकि लाग्यो ।। - भानु सुनुवार 'तिरस्कृत'

पारुहाङ्गले जस्तै तिम्ले सागर निल्नुपर्छ,
सुकाएर बाध्यतालाई तिम्ले छिचोल्नुपर्छ !
किरातीकी चेली खुशे खरानी धस्ने हैन,
साधु बन्ने ढोगींहरुलाई तिम्ले छिल्नुपर्छ ।। - तीर्थ संगम राई


डोरी संगै भोरी माया दिन्छौ की त साइला,
मनको झोली दिए भने लिन्छौ की त साइला,
कुरा मात्रै होकी आउने साचै बाटो लाग्यौ ?
सानो सर्त लिएर नै फिर्छौ की त साइला ।। - इन्द्रा चाम्लिङ 'खुशे'

पारुहांगको आसिर्बादलाइ शिरमा राख्ने छु,
बाध्यतालाई निमोठेर तिरमा राख्ने छु !
थोरै साथ दिनु "दाजे" पक्का जीवनको,
दु:ख जति मन्साएर झिरमा राख्ने छु ।। - इन्द्रा चाम्लिङ 'खुशे'

सागरसरि चोखो मायाँ तिमीलाईनै दिन्छु खुसे,
नामसारी गरे हुन्छ मनको झोली लिन्छु खुसे !
बर्खा याम लाग्न लाग्यो मंसिर त आउन देउ,
पोङ बोकेर घरमै आई सबै कुरा छिन्छु खुसे ।। - भानु सुनुवार 'तिरस्कृत'

पारुहाङ्गको आशिर्वाद तिम्रो शीरमा छ है खुशे,
बाध्यता र दुःख सबै अहिले भीरमा छ है खुशे ।
चेली हुर्कि आँखा लाग्यो दायाँ बायाँ दुनियाँको,
भानु मात्र हैन हेर अरु पनि थीरमा छ है खुशे ।। - तीर्थ संगम राई

हजुरको आँगनीमा फुलेछ सुन्दर फुल माईती,
आँखा लाग्यो टिप्नखोजे हुन्छकि भुल माईती !
हुर्क्या बढ्या चेलीलाई कति दिन माईतै राख्ने,
कुटुम्वले पोङ ल्याँउदा घर भित्रै हुल माईती ।। - भानु सुनुवार 'तिरस्कृत'

पर्खी बस्छु लिन आउनु चाडै मेरो गाउमा भानु,
सयम्बरको माला उन्छु बरु तिम्रै नाउमा भानु !
"दाजुले" नै भनेशी त मेरो के नै लाग्छ अब ,
जिन्दगी यो सुम्पिउला अनि तिम्रो पाउमा भानु ।। - इन्द्रा चाम्लिङ 'खुशे'

सुम्निमालाई साक्षी राखी 'भानु लाइनै दिनु दाजे,
धेरै माग्नु पर्दैन है दुइ बोतल लिनु दाजे !
जाने भए छोडी अब माइती राजालाई,
सम्झानानै अमर भो आसु तिम्लाई चिनु दाजे ।। - इन्द्रा चाम्लिङ 'खुशे'

तिम्रोलागि पाउमा होईन यो छातीमा ठाँउ दिउँला,
समाजले सम्मान गर्ने सुन्दर एउटा नाउँ दिउँला !
आफ्नो लागि योग्य वर साँच्चै मान्ने भए खुसे,
जुनी भरि न्यानो साथ र ममताको गाँउ दिउँला ।। - भानु सुनुवार 'तिरस्कृत'

हुन्छ भानु तिम्रो मनको झोलीमा सजाउ,
सबै जुनी सधैभरि मिठो बोलीमा सजाउ !
खाली सिउदो आज देखि तिम्रै नासो भो,
पन्चे बाजा बजाएर चाडै डोलीमा सजाउ ।। - इन्द्रा चाम्लिङ 'खुशे'

आजै देखि तिम्रै भर परे है म त खुशे,
सगुन बोकि तिम्रै घर झरे है म त खुशे !
ख्यालख्याल होकि साँच्चै हो तिम्रो कुरा,
तिमी मेरी भन्ने विश्वास गरे है म त खुशे ।। - भानु सुनुवार 'तिरस्कृत'

भर परे हुन्छ भानु मेरो घर झरे हुन्छ,
सुख-दुख जीवनको सबै पुल तरे हुन्छ !
ख्याल ठट्टा नसम्झिनु साचो माया दे-को,
तिम्रो दिलको ढोकाहरु सबै बन्द गरे हुन्छ ।। - इन्द्रा चाम्लिङ 'खुशे'

जसो जसो तिमी भन्छौ म त्यसै गरि दिउँला,
रीतिथीति मान्नै पर्छ त्यो सिउँदो भरि दिउँला !
तिमी बस्यौ यो दिलमा अरु बस्न पाउँने छैन,
बल गरेर बस्न खोजे आफै अन्त सरि दिउँला ।। - भानु सुनुवार 'तिरस्कृत'

जुनी जुनी तिम्रै लागि बाची दिउला है,
घन्काउनु सुर-ताल नाची दिउला है !
मैले पनि यो दिलमा तिम्लाई राखी सके,
खुशी सबै तिम्रो नाउमा साची दिउला है ।। - इन्द्रा चाम्लिङ 'खुशे'

यस्तो भन्ने साथी पाए जस्को पनि जीवन फुल्छ,
धानको बाला झुले सरि उस्को घरमा खुशी झुल्छ !
जीतै जीतको लाम लागेर जिन्दगीनै सफल हुन्छ,
हिउँदको हिमाल जस्तै त्यो जोडिको मुहार खुल्छ ।। - भानु सुनुवार 'तिरस्कृत'














4 comments

aha kati ramailo lagyo aaj dohori muktak padhna pauda

ल ल भानु सर तपार्इ को यो रचान ले पनि हाम्रो थकार्इ लार्इ नै मेटने धेरै राम्रो सयोग गरयो यार भानु सर अनि अवो पनि यसरी नै अरू पनि पढना पाउ भन्ने असा गर्दै अजा लार्इ चही यति नै है त लो God bless you

sarai ananda ayo muktak padhna pauda ,,,hajurharuko kalam esarinai sahityama sasakta rumpam agadi badhirahos hardik subhakamana by,kamalikanta

La Bhanu sir, sarai man paryo malae, wonderful!!!, god bless you...

Post a Comment