भानुका रहरको बिस्कुन सुनसान रेगिस्तान : अलिकति रहर, अलिकति कहर, थोरै गाउँ-बढी शहर
बिस्कुन छरपष्ट । कठै ! कहिले कुखुराको माउले र्छछ चिउना डाक्दै । कहिले भाले भुट्भुटी खेलेर पोथी छेकी पठाउँछ । खोर वा टाट्नबाट फुत्केको बोकाबाख्रा लघारालघार गर्दै बिस्कुन मै । सुँगुर आइ उधिन्छ । कामधेनु नामको गाई पनि पल्केपछि दिनमा एकपटक थुतुनो ठोस्न आइपुग्छ बिस्कुन माथि नै । यस्तै यस्तै छन् दोःथाउन नसकेको रहरका विस्कुन । जीवन संर्घषका भोगाईहरु ।
फारसिमा जन्म लिएको गजलले अंग्रेजीमा घुलमिल हुन २० औं शताब्दीका अमेरिकाबासी कस्मीरी कवि आगा सहिद अलिकै साहरा कुर्नु परे जस्तै भरोपेली परिवारका भाषाहरु फारसी, उर्दु, हिन्दी हुँदै नेपालको खस नेपालीमा पाहुना लागेको गजलले लिखु, खिम्कु, मोलोङसोलोङमा बोलिने भोटबर्मेली कोइँच नेपाली र कोइँच स्रष्टाहरुको सिर्जनात्मक गुद्खामा भाले बास्न भने २१ औं शताब्दी नै लाग्यो । यसै मेसोमा अतीत, चेरेहामसोसँगै सुनकोशीको तीरबाट साहित्यिक डुँगा खियाउँदै अरेवियन खाडीमा हाम फालेका भानु जान्चा सुनुवार हराभरा भएर बयली खेल्दै छन् गजलीय व्याँडमा-
फरक धारमा बग्छ पानी वारिपारी छाल उस्तै
तिम्रो मेरो पाइलाको लाग्छ मलाई चाल उस्तै -पृ.२०)
बिजाउने पूरा अतीत झिकी फाल्ने मन छ
निराशाको कालो बादल सारा गाल्ने मन छ -पृ. २७)
हिउँदको हिमाल सरि खुल्न पाए हुन्थ्यो
ढुक्कसँग हरेक बस्ती डुल्न पाए हुन्थ्यो -पृ.४३)
अरेवियान कसिदा, यायावर गजलका पूर्वज । खलिफाहरुको गुणगान गाउँदै विवाह, काजभोजमा रमाइलो गर्न वाचन गर्ने जाहिलियाकालको लामो कविता कसिदाको शुरुको पद तस्बिब, फारसको आदिवासी गजल बन्यो १२ औँ शताब्दीमा । १३ औं शताब्दीका जलाल अल दिन रुमीले अति आनन्द दिने आत्मानुभूति, इस्लामिक धर्म स्तोत्रसँग गाँसेका गजलीय साइनो १४ औं शताब्दीमा गजलको जन्मभूमि फारसमै पश्चिमी मुलुक लगायत फारसमा अति चर्चित कवि हफिज -मोहमद सामज उद्दिन) ले धार्मिक स्तोत्रसँगसँगै निरपेक्ष लेखनतिर पनि बाटो सोझाए । एक किसिमले उनी त्यतिवेला बिद्रोही गजल लेख्थे ढोँगी मुल्लाहहरुको विरुद्धमा । समकालिन भारतवर्षिय कवि अमिर खुस्रो -१२५३-१३२५), ले फारसमा बहुचर्चित गजललाई उर्दुमा लेखेर जनप्रिय र मुखाग्र बनाए पुरै भारतवर्ष । १९ औं शताब्दीमा पकिस्तानी कवि मिर्जा घालिबले चेतनाका स्वाद पस्के तत्कालीन व्रिटिश उपनिवेश विरुद्ध गजल लेखेर । २० औं शताब्दीमा पाकिस्थानी प्रगतिशील कवि फैज अहमेद फैजले सबै सामु वर्ग संर्घष बारेमा वकालत गर्दै राजनीतिसँग जोडे गजललाई र उनका गजलहरुले प्रतिवन्धको मार पनि खेप्यो सञ्चार माध्यम -पत्रपत्रिका, रेडियो, टेलिभिजन) हरुमा । तर रहरको बिस्कुनमा राजनीतिक चेतले ओतप्रोत बिद्रोही गजल भेटिँदैन । जान्चा भानु बिद्रोही होइनन् यसो भनौं उनी व्रि्रोह गर्दैनन् । गरे पनि मुस्किलले मायालुसँग, आफैसँग, आफ्नो वा मानवीय व्यवहारसँग कताकाहीँ बिद्रोह गरे कि भन्नेसम्म लाग्छ-
जानी जानी आफ्नै खुट्टा बन्चरोले हान्छ मानव
स्वार्थ बोकी चर्ने हुँदा सधैँ धोका खान्छ मानव -पृ. ७२)
तिम्रै यादमा तड्पिने मन सके जति तोडे हुन्छ
काम नलाग्ने थोत्रो बनाई लुटीलुटी छोडे हुन्छ -पृ.४६)
ऐना, सडक, रक्सी, जुरेली गजलका पारम्परिक बाहन । जुन परम्परा करीब करीब भंग भएको अवस्था छ रहरको बिस्कुनमा । संरचनागतरुपमा काफिया, रदीफ, मतला, मक्ता, तखल्लुस, मिसराका बारेमा कुनै गुनासो वा पण्डित्याइँ हाँकेर, यहाँ चामल र पिठोसँग दाँज्नु छैन भानुका गजललाई । एक कलिक बहुलवादको समय हो यो । सिर्जनामा सबैको आ-आफनै परिचय हुन्छ । गजल आफैंमा विविधतामा एकता पस्किने विधा हो । यही बहुलवादी प्रवृत्तिलाई बुझेर अमेरिकन कवि तथा दार्शनिक राल्फ वोल्ड र्इमर्सन गजललाई दाँज्छन् घाँटीमा लगाइने लचकदार पाहाँलोको खुकुलो मालासँग । गजल फरक फरक संस्कृतिको बहु-संस्कृति प्रेमोपवन हो समालोचक करेन भोल्कमेनका अनुसार । गजलको चिनारी एक किसिमले मायाप्रेमको टिप्पणी पुस्तिका जस्तै छ । जुन प्रवृत्तिबाट रहरको विस्कुन विमुख छैन -
चोखो माया मुटुभरि पाली राख्नु प्यारी
मेरै लागि त्यो सिउँदो खाली राख्नु प्यारी -पृ.५१)
रोदीघरमा नाचौं भन्यौ कुम जोडी नाचेको थेँ
मेरै साथमा हाँसौं भन्यौ, दिल खोली हाँसेको थेँ -पृ.६०)
स्वप्नगगनको प्रेमालापमा जेलिएका जान्चा सुनुवार यथार्थमा तिरीमिरी झ्याइँ देखेर रहरका विस्कुनभरि पोखेका छन् मनोसन्त्वनाका संवाद, अन्तरमुखी आक्रोश, नैराश्यता । गजलीय मायापिरती कहिले गाढा भएर प्रगाढ हुन्छ त कहिले विछोडका पीडा । कतै दार्शनिक उपदेश त कतै छ द्वन्द्वात्मक दश वर्षो जनयुद्धको अदेखा बाछिटा । कतै बाध्येता । कहीँ परदेशीहरुको चसक्क चस्केको मन र असरल्ल रहर मारेर बस्नु परेको पीडाहरु-
झिलिमिली गाउँ शहर खुशी चुम्ने दाउमा
आयो होला दशैं तिहार म जन्मेको गाउँमा -पृ. ६१)
धनको लोभमा पर्ने हुँदा सात समुन्द्र तरेको छु
कस्तो हाल छ नसोध्नु है बन्धकीमा परेको छु -पृ.७३)
यता उता खुशी खोज्दै गोल्याएर बेरी रहेँ
रहरको बिस्कुन लाग्यो टोलाएर हेरी रहेँ -पृ.५४)
यती धेरै माया दियौ बाँच्न मन लाग्यो
भए जति पीडा भुली हाँस्न मन लाग्यो -पृ.१९)
नसुक्नु है मेचीकाली सुख शान्ति तार्न आउँछु
नपग्लिनु हिमचुली साँध सीमा बार्न आउँछु -पृ.९३)
मेरै भागमा किन पर्छन नियतिका मारहरु
कति सहनु अचानो भै खुकुरीमा धारहरु -पृ.४०)
छुटेको साथलाई छोडेर बाँचेँ
फुटेको दिललाई जोडेर बाँचेँ -पृ. ५२)
घरदेशलाई सम्झेर परदेशमा लेखिएका यी गजलहरु पढेपछि एक होनाहार र ठूलो सम्भावना बोकेको गजलकारलाई भेटेको अनुभूति मलाई भइरहेको छ । उदीयमान गजलकार भानु सुनुवारलाई हार्दिक वधाई र शुभकामना । ललिजन रावल -परदेशमा लेखिएका गजलहरु, अग्रपृष्ठ) उद्धृत अंश हो जम्मा ७५ गजलको सँगालो रहरको बिस्कुनको भावभूमि । यसै भन्छन् लेख्छन् सबै आर्यन श्रष्टाहरु मंगोलियन अनुहारका साहित्यकारहरुलाई । केन्द्र भत्केको यो समय । र, हाम्रा मंगोलियन स्रष्टाहरुमा केन्द्रीय भूत सवार भएको क्षण । केन्द्रबाट बधाई र शुभकामना प्राप्त गर्ने रहर । र, लुकेको कुरा के हो भने प्रायः सबै मंगोलियन अनुहारहरु किन परदेश लाग्नु परेको होला – कसैको कृतिले बक्दैनन् र कृतिमा घोत्लिएर भावको सार खिच्ने भावभुमिकार, समिक्षकले पनि त्यतातिर कहिल्यै इङ्गित गरेर लेख्दैनन् । समिक्षामा हुन्छ त बढी गन्थन । कम कृतिको शल्याक्रिया । आफ्नोपन भत्केकाहरुलाई स्व-पहिचान गर्न गराउन उकास्नु वा चेत र्छनुको विपरित कित्तामा उभिएर अरुकै गुण गान गाउँन लगाउने, अरुकै पहिचानमा रमाउन लगाउँने बढ्दो विस्तारवादी केन्द्रिकृत प्रवृतिको पसल । भानुकृत रहरको बिस्कुन पसल होइन, बेच्नको लागि । यो फसल पनि होइन, उँगि बनाएर न्वागी गर्नको लागि । बिस्कुन बेवारिसे बस्तु पनि होइन, सरजीमिन गरी मुचुल्का उठाएर सँगाल्न । न त यो अपत्कालीन उद्धार गर्नु पर्ने दैवी प्रकोप नै हो । बिस्कुन दोःचा पर्छ । डालो, थुन्से, सोली वा ग्योमलोङ, बिस्कुन सञ्चिता गर्ने थलो । भानु नडुब्दै बिस्कुन उठ्नु पर्छ । यहाँ भन्नै पर्छ मुस्किलैले पाउन सकिन्छ रेगिस्तानको हप्हप्ति गर्मीले लछ्याप्पै भिजेको कमिजबाट बुङबुङती आउने पसिनाको गन्ध । शहरी आँखाले क्वारक्वार्ती घुरेर हेरेको अनुभूति हुन्छ गाउँ घरका परिवेशलाई । परदेशमा बसेर लेखेको गजल हो भन्ने ठाउँ कमै छ । यर्सथ किशोर किशोरी र गोडा पच्चिसे उमेरका युवालाई सुहाउँदिला लाग्छन् भानुका गजल । अतीतको भोगाई, बिरही मनलाई बाँध्नु परेको छ उनले । यो हो वैचारिक नाइलुमा बसेर ठरि राख्ने घडी । रहरको बिस्कुन मनोरमाको खोजी हो भानुको लागि । यस समयमा उनले अग्नी परिक्षा दिने रामप्यारी सीता खोज्नु बेकार हुने छ । आफैलाई र आफ्नो सामुहिक साँस्कृतिक, सामाजिक जीवन र बिस्कुन बनेका असरल्ल रहरलाई अरुको भन्दा भिन्न रुपमा आफ्नै श्रमद्वारा सम्भव तुल्याउने भानुभित्र भएको अपार क्षमतालाई मनन् गर्दै विचारको युद्धमा रणवीर बन्ने उत्तम उपाय त्यही हुने छ, समीर भएर चन्द्र-सूर्य लेखनीलाई निरन्तर मस्काइ रहनु, कहिल्यै थकाइ नमार्नु । भानुका रहरको बिस्कुन सुनसान रेगिस्तान: अलिकति रहर, अलिकति कहर, थोरै गाउँ-बढी शहर । निरन्तरतासँग लठारिँदै जाने हो भने भानुको तेस्रो नेत्र पर्गेल्न सहायक हुने छ रहरको बिस्कुन भन्ने कामनासहित लेखनीको बिट मार्छुनै स्रष्टाको एक गजलको यो मतला पङ्तिसँगै-
प्रभु तिम्रो शरणमा एउटा भक्त परेको छ
मुक्तिमार्ग भेटाउने विश्वास धेरै गरेका छ -पृ.५६)
0 comments