कविता~ समानान्तर

सदीयौंदेखि अक्कर बनेर
उभिएको छ मेरो सामु 
केहि असान्दर्भिक
केहि सान्दर्भिक 
नयाँ र पुराना पुस्ताहरुका
जेनेरेसन ग्यापको अमिलो यथार्थ ।

राडीपाखीका खेलो गर्दै
सोलुका शेर्पा दाई 
तराई ओर्लेको बेला
समानताको आँखा हेरेर
नेपाली भनियोस् 
भाँडा बर्तन साट्न– बेच्न
तराईका भैया
पहाडतिर उक्लेको बेला
आफ्नोत्वको साईनो लगाई
नेपाली भनियोस् ।

किनकी
हाम्रो भूगोल
विबिधतामा रमाउँछ
त्यही विबिधता भित्रको एकतामा
नेपालीको पहिचान छ ।
यो भूगोल
हिमालबासीको हो
पहाडबासीको हो
अनि तराईबासीको पनि हो ।

आदिम मान्छेका दर सन्तानहरु 
बन्चित नबनुन
उनैका पुर्वजहरुले 
बिराएका खोरियालाई भोग्न
धपाईनु हुन्न अब थेप्चेहरु
भर्तिका बहानामा
मलायातिर ।
अब बिभेद मासिनु पर्छ
देश सिगार्न– बचाउन
सबैको सहभागिता हुनुपर्छ
यहाँ धर्म हेरिनु हुन्न
यहाँ जात हेरिनु हुन्न
यहाँ बर्ण हेरिनु हुन्न
र, भूगोल नापिनु हुन्न ।

यदि नाप्नै पर्छ भने
हामीबिचको मित्रताको आत्मियता नापौं
हामीबिचको शत्रुताको खाडल पनि नापौं
नापौं छातिभित्रको नेपाली हृदय
नापौं  आँखाको दुरदृष्ट्रि देख्ने क्षमता ।

0 comments

Post a Comment