कविता- नवयुगिन मानव सभ्यता

अस्थाई जीवन बाँचेका
असंख्य पाषाण जिन्दगीहरु
स्थाई खुशी भन्डारणका सपना 
फूल्छन् र आईलिन्छन्
उसो र पो
यायावर जिन्दगी बाँच्न विवश छ ।
कुन्नि किन हो मान्छे अचेल
मान्छे बन्न सकेका छैनन्
अर्थात अमान्छेहरुको भिडमा
उभिएको बुख्याचा'झैं
म देख्छु
नवयुगिन मान्छेहरू
समवेदनाहीन जीवन नाचिरहेका
बेमौस बर्षातमा रुझिरहेका ।
वल्लो भूगोलदेखि उपल्लो भूगोलसम्म
भौतारिन्छ भ्रमित मृगतृष्णा ओढेर
मुस्कान बिहिन चेहरा
निरर्थक बाचिरहेका छन्
मान्छेनै मान्छेमाथि चढेर
चोमोलुङ्गमा नाप्न खोज्छ
अनि-
पूण्य कमाउने एक ढाकर सपना बोकेर
चाहारी हिड्छ यो गोल भूगोलको
मन्दिर, मस्जित, गुम्बा र चर्चहरुमा
पाईला पाईलामा पापका तोक्मा टेकुवा लगाउदै ।
जीवनका आरोह-अवरोहहरूमा
लालचलाई उकेरा लगाउँछ
लटरम्म बनाउछ विनासका ताण्डवहरू
बलियाले निर्धामाथि संगीन परेड खेल्छन्
मान्छेनै शिकारी/मान्छेनै शिकार
यस्तै छ नवयुगिन मानव सभ्यता ।
आज मार्च २१ तारिख विश्व कविता दिवस रेन्त । त्यसैले
विश्वका सबै कविहरूमा म मुलाङ अकविको हार्दिक शुभ~ कामना !!!

0 comments

Post a Comment