मुक्तक

केहि मुक्तकहरु

हरेक पल्ट मलाई मात्र छल गर्छ नियतीले,
लक्ष्य बिथोल्न असीना भई, झर्छ नियतीले ।
छरपस्ट सपना आशा मिलाई जोडौं भन्दा,
नौनाड़ीका सारा जाँगरलाई हर्छ नियतीले ।।

यता टाल्दा मैले उता फेरी फाटी जान्छ,
हाँस्न खोजे  खुशीले बाटो, काटी जान्छ ।
भोगाईले भीरको चिण्डो बनेका बखत,
सप्तरंगी सपनाले दिमाग, चाटी जान्छ ।।

कर्म फूलाउन नथाक्ने श्रमिक,
भूगोल सिगार्ने, हाक्ने श्रमिक ।
न्याय र समानताका लागि'चै,
सामन्तको मुख ताक्ने श्रमिक ।।

भए म आफन्तकै हेलामा,
र थाके उन्नत गर्ने बेलामा ।
कालो पनि, सेतो भनिन्छ,
बिकाउ इन्साफी भेलामा ।।

छैन बिस्मात गुमाउनुमा अचेल,
लाग्दैन हर्ष'नि पाउनुमा अचेल ।
कागलाई बेल पाक्नु'झै, लाग्छ,
बसन्ती बहार आउनुमा अचेल ।।

कहिले कसैको समय काट्ने साधन बनियो,
कोहीबाट यतै झ्याली पिट्ने कारण भनियो ।
उपमा जे जस्तो पाए'नि खुदकै इजलासमा,
आफ्नो जिन्दगी धरती भरी सर्वश्रेष्ठ गनियो ।।

लुट्नका लागि कोही, आफन्ति बनेर आए,
हाँस्ने आधारहरू मेट्न, कसैले माया लाए ।
हिजो आज एकान्तमा केलाउछु ती हर्कत,
आखिर यी सब गरेर ऊनी हरूले के पाए ।।

जित्ने भोक लाग्नुले हार्दा पनि, हार मानिन,
भोगाई जस्तो भएुनि जिन्दगी भार मानिन ।
पुग्नुछ चोमोलूँगमा त्यसैले होकि क्या हो ?
चुनौतीका काँडेतारलाई पनि बार मानिन ।।

छन् जे जति जीर्ण सपना उकेरा लगाउदैछु,
खुशी लुट्ने हिजोलाई धेरै टाढा भगाउदैछु ।
नहुने के छ साथी गर्ने हो भने यसै धरतीमा,
सागरबाट मोती टिप्न म पसिना बगाउदैछु ।।

समवेदना हराएको बस्ति छ यहाँ,
जाली झेली'कै पो,  मस्ति छ यहाँ ।
सुरक्षित छु भन्ने सपना नदेखे भो,
हिंसाका मालीको, गस्ति छ यहाँ ।।

अग्ला होचामा नापिन्छ, रगत सबैको रातो छ,
पशु बरु मिलेर बस्छ, मनुवाहरूमा फाटो छ ।
फरक देख्ने, वैरात्व साध्ने, अहंकारीले सोचेस्,
जीवन पश्चात अन्तिम शैया, सबैको माटो छ ।।

छेपारो झैं मनुवाले रंग फेर्न थाल्नुले,
बनेका पनि भत्कीन्छ स्वार्थ पाल्नुले ।
हरेक इजलासमा, सत्यले सधैं हार्छ,
कानूनका नजरलाई पैसाले टाल्नुले ।।

मेहनत गर्छन् अचेल मनुवाहरु सस्तो,
सप्तरंगी सपना पाल्छ, कस्तो कस्तो ।
अल्छे तिघ्रा स्वादे जिब्रा, हुनेले भन्छ,
मेरै चै जिन्दगी भएन जिन्दगी जस्तो ।।

खुल्ला आकाश, ओतिनेलाई छाना दिनु,
भोकालाई भोजन नाङ्गालाई नाना दिनु ।
ढुकुटीमा कुहाई अन्न भण्डारगर्नु भन्दा,
मुठ्ठी माग्न आए बरु उसलाई माना दिनु ।।


घमण्ड बोकेर हिड्ने मनुवा फूल्न सक्दैन,
लालच गर्नेले मनभरि शान्ति हुल्न सक्दैन ।
घमण्ड, लालच त्यागेर, नियाले यो दुनिया,
तिमी नरहे पनि इतिहासले, भुल्न सक्दैन ।।

यो धरतीमा सद्भाव, प्रेम, फूलाउनु नारी,
आफुसंगै बस्तिमा शान्ति डुलाउनु नारी ।
भत्काउने/बिगार्ने होईन बनाउनु'चै पर्छ,
श्रम गरेर समृद्ध समाज चुल्याउनु नारी ।।

नहुने त केहि छैनन् गर्यो भने यहाँ,
हीरा फल्छ मेहनत छर्यो भने यहाँ ।
गिद्दे नजर हेर्न थाले सधियारीहरू,
बलिदान दिनु पर्छ, पर्यो भने यहाँ ।।

फूलुझै ओईलिने बैशको घमण्ड नगर्नु,
निश्चित छ एकदिन त, ओईलिएर झर्नु ।
बैशालु जोसजागर लोकहितमा लगाई,
जन्मेको मूल्य चुकाई अनि बसाई सर्नु ।।

बलेको आगो ताप्नेहरूका भिडमा बालेर ताप्ने भेटिन्न,
सुखमा साथी लाखै भेटिन्छन्, दुःखलाई खाप्ने भेटिन्न ।
मुखले त यहाँ मान्छे आकाशकै तारालाई पनि झार्छ,
दुर्भाग्य धर्तीको बोली र व्यबहार दुरुस्तै नाप्ने भेटिन्न ।।

निर्मोहीको यादमा पलपल जल्नेहरू कति कति,
मुखले पूर्व, कामले पश्चिम, चल्नेहरू कति कति ।
हुने नहुने सबै हुन्छ समवेदना हराएको बस्तिमा,
पराया छातीमै टेकी आफु फल्नेहरू कति कति ।।

फूल्न खोज्ने रहरलाई, चुडी हिड्छन् यहाँ,
पराईका छाती कुल्चि गुडी हिड्छन् यहाँ ।
कस्ता कस्ता मनुवा, जन्मिए कठै धर्तीमा,
टेक्ने धरातल बिर्सिएर उडी हिड्छन् यहाँ ।।

छैन केहि नबिक्ने हरेक थोक बिकाउछन्,
पर्दा हालेर मनुवा कालो कर्म टिकाउछन् ।
शान्ति शान्ति भन्दैमा कसरी हुन्छ शान्ति ?
जहाँ गर्वका साथ शस्त्रकला सिकाउछन् ।।

सुख शान्ति र समृद्धि तार्ने पुल बनाउछु,
सिमानाको रक्षार्थ बलिया हुल बनाउछु ।
कोईंच होपो यही प्रतिज्ञा गरि बक्सिन्छ,
प्राण भन्दा माटो मोहगर्ने कूल बनाउछु ।।

हर कदम सत्कर्ममा उपस्थिति जनाउदैछु,
हिजोबाट इखिएर आज सुन्दर बनाउदैछु ।
लुटेर लुटिन्न कदापी ! श्रमका पूजारीलाई,
लुटिए'नि आफ्नै पौरखले फेरि रमाउदैछु ।।

औशी खसेको जिन्दगीमा स–सम्मान जून बनेर आयौ,
कालो रात चिरेर समर्पणले बसन्ती मधुमास भै छायौ ।
तिम्रो न्यानो प्रेमिल साथ नशीव होस् जन्मौ जन्मसम्म,
नयाँ आशा र विश्वास भर्दै हाँसी जिउन, योग्य बनायौ ।।

मन पराउनु माया लाउनु दोषी भन्छौ भने,
तिम्रै मनको बाटो धाउनु दोषी भन्छौ भने ।
जस्तो दिन्छौ सजाय भोग्नलाई म राजी छु,
तिम्रै नामको गीत गाउनु दोषी भन्छौ भने ।।

नापतौल बिनाको, सम्बन्ध गाँस्नु,
स्वार्थ भए आफुमा तुरुन्तै मास्नु ।
मित्रता त यस्तो पो हुनुपर्छ यहाँ,
सारा लोक हसाएर, आफु हाँस्नु ।।

तिम्रो मुस्कान मेरो लागि ऊर्जा बन्छ,
र त यो मन तिम्ले मुस्कुराऊनु भन्छ ।
भूली सारा दुनियाँ तोडि साँध-सीमा,
जति जन्म लिन्छु म तिम्रै हुने मनछ ।।

रहर भने बाह्रैमास, फूल्न फल्न खोज्छ,
भोगाईहरू केलाउछु मुटू जल्न खोज्छ ।
तर पनि सम्हालिदै ! कर्म गर्छु भन्नेलाई,
आशा निमोठी नियतीले, छल्न खोज्छ ।।


0 comments

Post a Comment