आत्मपरक कथा~ "एउटा आर्दश प्रेमको अन्त्य"

सायद तिमीलाई मेरो हर्कतले हदै सम्म विझाएको होला । एक हातले तालि बजाउन खोज्नु मेरो मुर्खता सिवाए अरु केही होईन म त्यो बुझ्छु । तरपनि म विवशछु । हामीले हिजो देखेका सपनाहरु मेरो मन मस्तिष्कमा सल्बलाउँदा मलाई हेक्का रहन्न तिमी मेरी होईनौ भन्ने । यो यथार्थ हो तिमी अब कदापी मेरी हुन सक्दैनौ । तर मेरो मन मान्दैन । कहिल्यै पनि म स्विकार्नै सक्दिन तिमी मेरी होईनौ भन्ने कुरा । हामी बिच बितेका हिजोले मेरो दिलमा तिमीलाई लाहाछाप लगाई राखेकोछ । त्यसैले त तिमीबाट टाढा भाग्ने मेरा लाखौ प्रयास बिफल भए । जिन्दगीको त्यस्तै मोडमा हाम्रो भेट भयो । जीवनदेखि थाकेर आफैसँग भागिरहेको बेला तिमीलाई स्विकार्नु नै मेरो लागि हितकर थियो । त्यसैले यता उता नसोचेर तिम्रो मायाँमा आफूलाई डुबाउदै गए । तिमीसँगको सहयात्रामा मेरो जीवनको सफलता देखेको कारणले जरुरत भन्दा बढि तिमी प्रति समर्पित भए । नहुनु पनि कसरी तिर्खा मलाई लागेको थियो । तिमी खोला थियौ म तिर्खा । अबका यात्रामा तिमी खोला भएर भाग्दै गर्नेछौ म चाँही तिमीलाई खोज्दै आउनेछु । म यो सत्यबाट एक ईन्च पनि भाग्न सक्दिन । सबैलाई समान देख्ने मेरो नजरले आकाश र धरतीलाई एकै बिन्दुमा मिलान गर्यो । वास्तवमा आकाश र धरतीको मिलन त क्षितिजमा मात्र सम्भव छ । त्यो पनि हाम्रो दृष्ट्रि भ्रम तथा परिकल्पनामा मात्र । यथार्थमा कहिकतै आकाश र धरतीको मिलन सम्भव छैन । हामी बिचपनि यस्तै दुरी थियो । दृष्ट्रि भ्रमको कारण मैले हाम्रो मिलन सम्भव देखें । तिमी मेरो लागि आकाश हौ अनि म धरती । आफ्नो स्थानमापन नगरी कसैले आश देखाउँदैमा त्यस्कै पछि लाग्नु मेरो भूल थियो । धरतीमा बसेर मैले आकाश छुने सपना देखें । यस्तो महत्वाकाँक्षी सपना पुरा होस् पनि कसरी हगि ।
पहिलो भेटमै तिमीबाट प्रभावित भएको थिए म । समयको गतिसँगै घुम्दै गर्दा तिमीले अबका बाँकि यात्रामा यात्राभर साथ दिन्छु भन्यौ । तिमीबाट आश्वासन पाएको पल म कत्ति खुशी भएको थिए । त्यसपछिका हाम्रा पलहरु कति रंगिन भएर बितेका थिए हगि । हामीले छोटो समयमै धेरै लामो यात्रा नाप्यौ । दुबै मिलेर कति सपना देख्यौ । मान्छेले देखेको सबै सपना पुरा नहुन पनि सक्छ । तर हाम्रो सपना पुरा हुनेमा म ढुक्क थिए । म ठोकुवा गर्न सक्थें तिम्रो साहरा पाईरहेमा हाम्रो सपना अवस्य पुरा हुने थियो । यो धरतीमा मैले केही गरेर देखाउन सक्ने थिएँ । मैले कहिले पनि रानो बिनाको माहुरी हुनु पर्ने थिएन । दुई ढुङ्गा बिचको तरुल बन्नु पर्ने थिएन । जसरी भए पनि यहाँ बाँच्नु पर्ने रहेछ । हो म पनि बाँच्छु तिम्रै वरिपरि रहेर । मात्र तिमीलाई मायाँ गरेर । यो जिन्दगीको अन्तिम पल सम्म तिम्रो छायाँ बन्नेछु । तिम्रो खुशीमा म पनि रमाउनेछु । तिमी ढुक्क रहनु मेरो छाँयाले तिम्रो खुशीमा विझाउँने छैन । तिमी मेरो भएपनि नभएपनि मायाँ त म हिजो झै गर्छु, गरि रहन्छु । फूर्सदमा हामीले पार गरेको हिजोलाई केस्रा केस्रामा केलायौ भने तिमीले मलाई नजिकबाट बुझ्नेछौ । अनि तिमी आफैले आफैबाट त्यस्को जवाफ पाउँनेछौ म किन यस्तो भए भनेर । एकै शब्द्धमा भन्नु पर्दा म गलत होईन मलाई परिस्थितीले गलत बनायो । मलाई तिमीले होईन मेरो खोटो भाग्यले छल्यो । त्यसैले अचानक तिम्रो पाईला डगमगायो । म प्रति समर्पित मनभित्र एकाएक परिवर्तन आउनुमा मेरै दोष देख्छु । सायद म कसैको लायक छैन । त्यसैले त मलाई दोबाटो सम्म साथ दिएर एक्लै छाडेर जानुमा तिमीले आफ्नो हित देख्यौ । जे गर्यौ सहि गर्यौ भन्न म सक्दिन किनकि त्यो मेरो चाहाना विपरीत गरेकी थियौ । तर म तिमीले गलत गर्यौ भन्न पनि त सक्दिन किनकि म तिमीलाई दोषी बनाउन सक्दिन । यो कस्तो धर्म संकटमा पार्यौ तिमीले त्यसैले म हिजो आज हाम्रो साझा सपनाको विस्कुन लगाउँदै आफ्नो मन छलेर तिम्रो बाटो कुर्न विवशछु । तिमी फेरि आउनेछौ मेरो दिलको ढोका ढक्ढक्याउन भन्ने आशा पालेर । यसो गर्नु मेरो वाध्यता हो । हजारौको भिडमा तिमी जस्तो मैले अरु पाउन सकिन । मैले खोजेको हरेक कुराहरु मात्र तिमीमा छ ।
तिमी प्रतिको चोखो मायाँ र समर्पणका कारण यो सब भएको हो । तिमीले मेरो मायाँ र समर्पणलाई जसरी बुझ । म सारा देव छोएर भन्छु तिमीलाई मायाँ गर्नु तिमी प्रति यसरी समर्पित हुनु मेरो पागलपन होईन । 'मन पराए मायाँ लाए मैले के बिराए' । त्यसैले म मात्र तिमीलाई मायाँ गरिरहनेछु मेरो यो जुनीभरि । तिमीलाई राखेको यो दिल भित्र यो जूनीमा कसैले स्थान पाउँने छैन । अर्को जूनीको त के कुरा गर्नु । अर्को जूनी पाईन्छ भन्नेमा विश्वास गर्दिन । दुःखको कुरा तिम्रो र मेरो रहर दुई किनार भयो । तिमी मेरो लागि आकाशको फल भयौ । के गर्ने खोटी भाग्य मेरो । जस्लाई मैले चाहेको थिए उस्लाई पाउन सकिन । मेरो लागि तिमी हरेक कुनाबाट योग्य छौ तर म तिम्रो योग्य हुन सकिन । तिमी बिनाको जिन्दगी औचित्यहिन छ, मूल्यहिन छ, तर पनि बाँच्नै पर्ने बाध्यताले म बाँच्न विवश छु । आजको तिमी र हिजोको तिमीमा आकाश जमिनको फरक छ । म भने खोजि रहन्छु तिमीमा हिजोको तिमी । हिजो झै मलाई मायाँ गर्ने । मलाई मान्छे बनाउने । मलाई हौसला दिने । मैले जित्नु पर्छ भन्ने । म त मात्र तपाईको भन्ने । अनि मलाई भित्रदेखि बुझ्ने । वास्तवमा भन्नु पर्दा यो समय पनि कति निष्ठुरी छ हगि ! हामी बिचमा हाम्रो प्यारो हिजो रहन दिएन । आज फरक बनेर हामी बिचमा आयो । हाम्रो हिजो आजसम्म आईपुग्दा थियो रे ! मा परिवर्तन भयो । हिजोको मेरी तिमी आज कहाँ पुगेर के गर्दै हौली ? म यहि सोचेर हरेक पल हैरान हुन्छु । समयको गतिले कति छिट्टो यत्रो परिवर्तन ल्यायो । समय पनि किन हाम्रो बिचमै आँधि तुफान बनेर आउनुपरेको होला । आजको तिमीलाई हिजोको तिमी बनाई दिने त्यस्तो कुनै दैविक शक्ति भए म त्यस्को सधै भक्त बन्ने थिए । या त कुनै चमत्कार भएर तिमीलाई हिजोकै मेरी तिमी बनाई दिए यो मेरो जीवन कति सार्थक हुने थियो । के यस्तो पनि होला र ? नहोला ! तर पनि म त हुन्छ भन्ने आशालाई छेक थुन गरेर राख्छु । तिमीमा फेरि परिवर्तन आउनेछ । तिमीमा फेरि हिजोको मेरी तिमीले जन्म लिनेछ । यो आशा मेरो जिवनको समाप्तिसँगै समाप्त हुनेछ ।
हाम्रो हिजोलाई भूल्न सक्ने मसँग सार्मथ्य छैन । तिमीले जसरी बुझ त्यसमा मेरो कुनै आपत्ति छैन । तिमी आफै सोच त म कति पल्ट टुट्नु । तिमीले भने जस्तो म गर्न सक्दिन । किनकि म पटक पटक टुट्न चाहान्न । फेरि पनि टुट्नु पर्ने डरले मलाई पछ्याई रहेको छ । त्यसैले म हाम्रो हिजोलाई काखी च्यापेर भाग्दैछु । प्लिज मलाई भाग्न देउ । तिमीसँग मैले तिम्रो खुशी मागेको छैन । मैले तिमीलाई मायाँ गरे जसरी मलाई मायाँ गर भनेको पनि छैन । तिम्रो जीवन तिम्रो खुशी जसरी सजिलो लाग्छ त्यसरी बाँच । तर सधै मुस्कुराउदै । तिमीले सधै मुस्कुराउनु पर्छ । म मेरै हालमा बाँचुला । बाँच्नु पर्छ । मलाई यहि बाटो सजिलो लाग्यो त्यसैले यहि बाटो भएर बाँकि जिन्दगीका यात्राहरु नाप्नेछु । मैले त्यो बाटोलाई मायाँ गर्नुको पछाडी तिमीले भने जस्तो नार्मदपन होईन । मेरो बुझाईमा पटक पटक मायाँ फेर्दैमा मर्द गनिन्दैन । मर्द बन्नलाई श्रीमति र सन्तानहरु हुनैपर्छ भन्ने छैन । मर्द बन्नलाई कर्म गर्न सक्नु पर्छ भन्ने मेरो मान्यता छ । हो त्यसैले म कर्म गर्ने कॊशिस गरौला ! म कर्म गर्नेछु तर फलको आशा राख्ने छैन मेरो मान्यताको मर्द बन्नलाई । मैले यो संकल्प गर्नु पूर्ब जिन्दगीलाई धेरै कोणबाट नियाले । आफ्नै मनसँग धेरै पल्ट युद्ध गरे । अन्त्यमा मेरो यहि संकल्पको विजय भयो । यहि बाटो भएर बाँकी यात्रा गर्नुमा नै मेरो हित देखे । तिमीले म प्रति देखाएको सहानुभूतिहरु गलत हो म भन्दिन । म माथि तिम्रो अधिकार छ । किनकी तिमीले कुनै बेला मायाँ गरेको मान्छे हुँ म । आफूले मायाँ गरेको मान्छेलाई सहि लागेको सुझाव दिनु नराम्रो होईन । उस्को बारे चिन्ता लिनु नराम्रो होईन । तिमीले जाने बुझेको तिमीलाई सहि लागेको राय दियौ । म तिम्रो सुझावको सम्मान गर्छु तर त्यसलाई शिरोपर गरेर अबको यात्रा थाल्न सक्दिन । तिमीले देखाएको बाटोमा जानका लागि मैले मेरो मायाँलाई मार्नु पर्ने हुन्छ । तिमीलाई भूल्नु पर्ने हुन्छ । तिमीलाई सुम्पिएको यो मुटू अरु कसैलाई दिनु पर्ने हुन्छ । म फेरि बिक्नु पर्ने हुन्छ । म बस्तु होईन ताकि पटक पटक बिक्न सकुँ । यो सब मबाट हुन्न म गर्न सक्दिन । त्यसैले मसँग मलाई माफ गर भन्नु सिवाए अर्को बिकल्प छैन ।
मलाई वाध्यता र विवशताले गाँजिरहेको बेला मैले यसो भनि रहदा तिमी भन्छौ म एकोहोरो लागे भनेर । म कहाँ एकोहोरिएको हो र यो सब समयको माग हो । मेरो समयले यस्तै माग्छ । समयको अगाडी यो बबुरोको के लाग्छ र ? मैले समयको मागलाई सहर्ष स्विकार्नु पर्दा तिमीले भनेको कुरालाई काट्नै पर्ने हुन्छ । मान्छेको जिन्दगीमा मात्र दुईटा पाटो हुन्छ । विकल्प पनि दुईटा । बाटो पनि दुईटा । नतिजा पनि दुई थरिका । पाउनु अनि गुमाउनु यस्तै यस्तै । मेरो विश्वासमाथि परेको चोट खप्न नसकि मृत्युशैयामा छट्पटाई रहेको बेला तिमीले बचायौ । साथ दिने बाचा गर्दै नयाँ सपना मेरो आँखामा भरिदियौ । एकदिन तिमीले प्रभूसँग भनेकी थियौ ! 'प्रभू मलाई सबै नाताहरु छुटाएर मात्र मसँग नाता जोडि देऊ'। त्यो बेला तिम्रो पुकार तिम्रो प्रभूले सुनेको कारणले होला तिमीले मलाई बचन दिन सकेकी थियौ । मेरो मगजले काम गरुन्जेल तपाईलाई साथ दिनेछु मात्र तपाईको हुनेछु । म पागल भए भने मात्र यो बाचा पुरा गर्न नसकुँला यस्तै भनेकी थियो होईन त्यो पल । तर म भन्दिन तिमीले किन त्यसो भन्यौ । बाचा गर्यौ । फेरि किन बाचा पुरा गरेनौ । तिम्रो रोजाईमा मेरो कुनै दुखेसो छैन । तिम्रो खुशी भन्दा माथि मेरो कुनै चाहाना छैन ।
आज सम्म आईपुग्दा म तिम्रो रोजाई भित्र परेर फेरि नपर्नुमा तिम्रो कसुर होईन । वास्तवमै म कसैको रोजाईमा पर्दिन । कसैको रोजाईमा पर्न चाहिने गुणहरु मसँग छैन रहेछ । मेरो लागि यो धरतीमा कोहि जन्मेको छैन । मैले यस्तै बुझे आज सम्मको मेरो यात्राबाट । यो सत्यबाट टाढा भागेर न्यानो मायाँ र दिगो साथको खोजिमा भौतारिनु मेरो मूर्खता सिवाए अरु केहि हुने छैन । आज सम्मको मेरो यात्राले यहि पाठ सिकाएको छ । तिमीनै भन यतिका बर्ष सम्म हाम्रो सह-यात्रा सुखद भयो बितेका ती दिनहरुमा कहिल्यै पनि हाम्रो मत बाझिएन । हामी बिच कुनै पर्दा भएन । एकले अर्कोलाई होच्याउने दुखाउने काम हामीबाट कहिल्यै भएन । जति तिमीले मलाई बुझेकीछौ, त्यस्तै मैले तिमीलाई बुझेकोछु । आज सम्म तिमीलाई मैले र मलाई तिमीले बुझे जति बुझ्न सक्ने मान्छे न त तिम्रोमा नै छ न त मेरोमा नै । मायाँको त के कुरा । मैले तिमीलाई अति तिमीले मलाई गर्ने मायाँ जतिको मायाँ न त हिजो कसैले गरेको थियो न त भोलि कसैले गर्नेछ । मुना मदन, हिर और राँझा, लैला मज्नु र सुम्निमा पारुहाङ्गले पनि हामीले भन्दा कमै मायाँ गरेका थिए होलान् । मेरो नजरमा हाम्रो मायाँ उनीहरुको भन्दा पवित्र थियो, बढि थियो भन्ने लाग्छ । यति हुँदाहुँदै पनि आज आएर म तिम्रो लायक बन्न नसक्नुको पछाडि त्यहि सत्य लुकेको कुरालाई मैले स्विकारे । सत्य त्यहि हो यथार्थमा मेरो लागि कोहि जन्मेकै छैन र जन्मिने पनि छैन । त्यसैले अब मेरो साथमा अर्को विकल्प छैन । म सपना देख्दिन कसैको चोखो मायाँ र न्यानो साथको । तिमीनै मेरो अन्तिम प्रेमीका हौ । म मायाँलाई बाँडेर, बदलेर मायाँ भन्ने पवित्र नातालाई सस्तो र अपवित्र बनाउन चाहान्न ।
म कहिले पनि तिमीलाई भूलेर बाँच्न सक्दिन । तिमीलाई म मेरो मुटूमा सजाउछु । कल्पनामै मेरी बनाउछु । मेरो चाहाना पनि यहि हो । यो जूनीमा मात्र तिमीलाई मायाँ गरु मात्र तिम्रो भएर बाँच्न पाँउ । जस्तो सुकै मोड आएपनि तिमीलाई दिएको मायाँ अनि तिमी माथि मैले गर्ने विश्वासमा कमि नहोस् । मेरो संकल्प र भीष्म प्रतिज्ञाले निश्चय पनि तिमीलाई दुखाउने छ । म यहि भन्छु प्लिज मलाई माफ गर ल । म यस्तै भए । मलाई यस्तै रहन देउ । म यसरी नै खुशी रहने कोशिष गर्ने छु । जीवन बाँच्ने बहानामा तिमीलाई सुम्पेको दिल अरुलाई दिन सक्दिन म । यो धरतीमा म माथि मात्र तिम्रो अधिकार छ । तिम्रो स्थानमा बस्न सक्ने कोहि छैन । म अरुलाई त्यो स्थान कदापि दिन सक्दिन । त्यसैले मलाई माफ गर किनकी म तिमीले चाहेको भन्दा फरक जिन्दगी बाँच्न खोज्दैछु …॥ खोजिरहनेछु अनन्तसम्म ……॥

0 comments

Post a Comment