मान्छे नचिन्ने यलाखम
मलाई पछिल्लो समयमा मन्दिरतिर धाउने जागर चल्न छाडेको छ । अचेल खै कुन्नि किन हो म त्यति घुमफिरमा रमाउन सक्दिन । कोलाहल भन्दा पर एकान्तनै मेरो रोजाईमा पर्न थालेको छ । कारण यहि पनि हुन सक्छ ! यो पल्ट घरदेशमा गएको बेला कुनै पनि देवालय तिर जान मन लागेन । घर बिदाको लामो समय मन्दिरहरुको शहर यलाखममै बिताए । छिटफुट साहित्यिक कार्यक्रम र साथी भाई भेटघाटमै आफुलाई सिमित राखे ।
परदेश लाग्नु पूर्ब धेरै बसन्तहरु मैल यलाखम खाल्डौमै फारेकोछु । परदेश लागे पछि पनि घर बिदाका धेरै जसो त्यहि बस्ने गरेको छु । नजिकको तीर्थ हेला हुन्छ भन्ने कुरा मेरो यात्रामा पनि लागु भएको छ । लामो समय बसेर पनि आज सम्म सेतो गुम्बा पुगेको छैन । पुगेकोछु केवल तस्विरको सहाराले । त्यो पनि साथी भाईले सामाजिक सन्जाल मुहार पुस्तिाकामा राखेका तस्विर मार्फत ।
एक दिन एकाएक ममा सेतो गुम्बा जाने भूत सवार भयो । पेट पूजा गरेर सेतो गुम्बा हानिने योजना बनाए । भान्जा र भतिजलाई लिएर सेतो गुम्बाको लागि यो कोइँच होपोको सवारी निस्कियो । चोक पुगेर ट्याक्सी बुझे । ट्याक्सी चालकले आज सेतो गुम्बा बन्द हुन्छ भन्ने जानकारी दिए । सेतो गुम्बा बन्द रहने खबरले अब के गर्ने भन्ने बारे अलमलमा परे । अब के गर्ने भन्ने बारे मनको अदालतमा बहस पैरवी चल्न थाल्यो । केहि बेरको बहस पश्चात अर्को विकल्प स्यम्भू जाने फैसला जारी भयो । त्यही ट्याक्सीमा हाम्रो सवारी अगाडी बढ्यो स्यम्भू तर्फ ।
ट्याक्सी रोकियो । कवोल गरेको क्याट चालकको हातमा थमाएर हामी उत्रियौ । हाम्रा पाईलाहरु अगाडी बढे । स्यम्भूका स्तुपा तर्फ । घुम्दै÷घुम्दै हामी स्यम्भूको मुख्य प्रवेशद्धार हुदै स्तुपा तिर अगाडी बढ्यौ । सँगै गएका भान्जा भतिज प्रवेशद्धार नाघेर अगाडी बढे । मलाई भने त्यही रोकियो र टिकेट काउन्टर देखाउँदै टिकेट काट्न अनुरोध फर्माए सुरक्षा गार्डले । मलाई राम्रो हेक्का थियो नेपाली नागरिकका लागि प्रवेश शुल्क लाग्दैन भन्ने कुरा । यो भन्दा अगाडी धेरै पल्ट बिना शुल्क स्यम्भूलाई मज्जाले घुमेको थिए । सुरक्षा गार्डको अनुरोध भूईमा खन्न नभ्याउदै मैले सोधी हाले नेपालीलाई कहिले देखि हो प्रवेश शुल्क लिन थालेको ? सुरक्षा गार्डले अचम्म मान्दै भन्यो ए तपाई त नेपाली पो हो ? जानुस जानुुस । सुरक्षा गार्डको अनुमति मिले पछि मेरा पाइला भान्जा र भतिजलाई भेट्न लम्किए ।
केही घण्टा स्तुपा तिरै बितायौ । दिन पनि क्रमश ढल्किदै जान थाल्यो । हामी पनि गुडमा फर्कन तल ओर्लियौ । मुख्य प्रवेशद्धारबाट अगाडी बढे पछि एउटा ट्याक्सी चालक अंग्रेजी छाट्दै हाम्रो पछाडी लाग्यो । म छक्क परे । नेपालीले नेपालीलाई नचिन्दा केही दुःख पनि लाग्यो । मैले सोधे “हैन हाउ दाई तपाईले त हामीलाई पनि बिदेशी भन्ठान्नु भएको ?” हजुर मैले त विदेशीनै हुनुहुन्छ भन्ठानेको भन्ने जवाफ ओकल्यो चालकले ।
गुड तिर फर्कदा बाटाभरी सुरक्षा गार्ड र ट्याक्सी चालकको कुरालाई सम्झिएर मनमा द्धन्द चलि रहे । आफैले आफैलाई नियाले । विदेशी जस्तो देखिने त्यस्तो कुनै हुलिया आफुमा देखिन । तब मनमा प्रश्न उठे कसरी आफ्नै देशवासीलाई परदेशी देखे÷बनाए । उनीहरुका हेराई र बुझाईलाई निफन्दा निफन्दै बासस्थान आईपुगेँ ।
एकदिन भेडासिंङ्ग तिर जानु पर्ने काम आइ लाग्यो । केही मित्रहरुका लागि दौरा सुरुवाल किन्न । कर्म थलोबाट बाक्लै अनुरोध आएकोले मैले जसरी पनि जानुनै थियो । अघोषित नाकाबन्दीको चेपुवा परेको यलाखम बस्तिमा घरबाट बाहिर निस्कनु पर्दा थुप्रै सास्तीलाई बुई गर्नु त थियो नै । त्यो बेला भएभरको सास्तीलाई पाखा पारेर मित्रहरुको अनुरोधलाई आज्ञाकारी बालक बनेर मान्नुमा मेरो नैतिक दाथित्व र उपलब्धि हो भनेर आत्माले भन्यो ।
विहानको खाना पश्चात बाहिर जाने योजना बनाए । मेरो योजना पशुपतिको जात्रा सिद्राको ब्यापार गर्ने बन्यो । त्यसैले बासस्थानबाट सोह्रखुट्टे उकालोमा ओर्लने विचार गरे । त्यहाँ प्रिय मित्र, नवोदितका पूर्वअध्यक्ष तथा कवि इन्द्रमणि नेपाल जीले हालसालै खोल्नु भएको ट्राभल छ । बाटो त्यतै परेकोले उहाँ र उहाँको कमाई खाने थलो नभेटी– नटेकी जान मनले मानेन । यहि भएर पनि सोह्रखुट्टे, ठमेल हुँदै भेडासिंङ्ग छिर्ने कार्यक्रम बन्यो । कार्यक्रम अनुसार म सोह्रखुट्टेमा ओर्र्लिए र हानिए इन्द्रमणि जीको अफिसतिर । मेरो दुर्भाग्य त्यो दिन उहाँ भ्याली बाहिर हुनुहुँदो रहेछ । अफिसको बन्द ढोकाले फोन सम्पर्क गर्न लगाएकोले हेटौडातिर टहल्दै गरेको जानकारी आयो । उसो त घरदेश बसाईको बेला कर्म थलोमा भेटिएका, आत्मिय बनेका मध्ये उहाँसँगनै बढि मेरो भेट भएको थियो । कर्म थलोबाट छुट्टिमा घरदेश पुगेका र कर्म थलोसँग बिदा मागेर घरदेशमै हल्लिदै गरेका केहि मित्रलाई भने भेटिन । भेट्ने साइत नजुरेर हो या मित्रहरुले भेट्न आवश्यक नदेखेर हो । मैले भेट्न नखोजेर भने होइन । मेरो लिस्टमा परेका केही मित्रहरुलाई भेट्ने प्रयास गरेता पनि भेट नहुँदाको पल मन अमिलो नभएको पनि होइन । तैपनि भेट हुन नसक्नुको दोष जति अघोषित नाकाबन्दी माथि थुपारेर अमिलो मन माथि गुलियो बहाना थपेर मन बुझाएँ ।
इन्द्रमणि जी नभेटिए पछि मेरो पाईला ठमेलतिर मोडिए ठमेल नरशिंह चोकमा अर्का मित्र राजन सुनुवार जीको ह्याण्डि क्राफ्टको पसल छ । त्यो दिन राजन जी पनि पसल नआउनु भएको जानकारी पाएँ । पसलमा उहाँकोे साथी हुनुहुथ्यो । राजन जीको भटभटेले खाने चारो सकिएकाले घरमै आराम गरेको रे । उहाँ पनि अघोषित नाकाबन्दीकै चेपुवामा चेपिनु भएछ । म त्यहाँबाट अगाडी बढे । आजको कार्यक्रममा परेको अन्तिम गन्वय तर्फ । उता लाग्दै गर्दा हाते ब्यापारीहरुले हैरान पारे । त्यहाँ पनि मलाई विदेशीने भनियो÷देखियो । कसैले बाँसुरी त सारंगी, कसैले रुद्राक्ष, कसैले बुद्धचित्तका माला किन्नका लागि मैले नुझ्ने भाषामा अनुरोध गर्नेहरु बाक्लै भेटिए । उनिहरुको बुझाईमा म चाईनिज, जापानिज या कोरीयन परे हुँला । मेरो अन्दाजले यहि भन्यो । खाटी नेपालीलाई विदेशी बनाउँदा मनग्य किराती रीस जागेको थियो । तर पनि आफुलाई सम्हाल्दै त्यो भिडबाट म अलग भए ।
परदेशमा पनि कैयन पटक नेपाली र अन्य देशका नागरिकले मलाई फिलिपिनो सम्झेका थुप्रै घटना छन् । त्यस्तो बेला मलाई म नेपाली हुँ भनेर आफ्नो परिचय दिनमा गर्व लाग्छ । अरुका नजरमा मेरो माटो जे जस्तो भए पनि मेरो लागि प्राण भन्दा प्यारो र सम्मान योग्य छ । नहोस पनि कसरी ? जहाँ मेरो साल–नाल गाडिएको छ । त्यही माटोमा खाई खेली हुर्की बढेको हुँ । जुन माटोले मलाई इमान्दार, परिश्रमी र शान्ति प्रेमी बन्न सिकाएको छ । विश्व माझ मेरो सन्तान भनेर चिनारी दिएको छ । म कसरी मेरो माटोको यतिका धेरै गुणहरुलाई चटक्क माया मारेर कसैले विदेशी नागरिक भनिरहँदा सहजै पचाउन सक्छु ? कदापी सक्दिन म । त्यसैले मलाई मेरो अन्तिम घडीसम्मै नेपाली भनेर चिनियोस् पुकारियोस् । मेरो यहिनै हो अन्तिम इच्छा । म खाटी स्वाभिमानी नेपाली हुँ ! नेपाली भएरै बाँच्न चाहान्छु अनि नेपाली भएरै मर्ने सबै भन्दा ठुलो र अन्तिम इच्छा छ । जय नेपाल । जय स्वाभिमान ।
0 comments