मुम्वैई ट्रान्जिट
बर्षातको समय भएकोले आकाश मैलिएको थियो । रुन्चे अनुहार बोकेर हुलका-हुल बादलहरु आकाशमा परेड खेल्न ब्यस्त थिए । बिहानको छ बज्दै थियो । अघिल्लो दिन बैदेशिक रोजगार कम्पनीले दिएको निर्देशन मान्न हामी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको मुख्य प्रवेशद्धार नजिकै जम्मा भएका थियौ । हामीलाई कतार हुईक्याउन मध्यस्त कर्ताको काम गर्ने बैदेशीक रोजगार कम्पनीको एक जना कर्मचारी हाम्रो राहदानी लगाएत यात्राका लागि चाहिने कागजपत्र बोकेर हाम्रो जमातमा मिसिए । कतारसम्म पुग्नकालागि बिचमा हामीले गर्नुपर्ने सबै कामको बेली-बिस्तार लगाउँदै हामीलाई आवश्यक सबै कागजात सुम्पिएर हामीबाट च्यातिए ।
२०५९ साल श्रावण ११ गते शनिवार म लगाएत थुप्रै नेपालीहरुले एकाबिहानै घर देश छाडेर रोजगारीको बहानामा परदेशतिर हाम फाल्दै थियौ । त्यस ताका देशमा चर्चिएको माओवादी जनयुद्ध र देशले जन युद्धलाई शिथिल पार्न घोषणा गरेको संकटकाल एउटा गतिलो माध्यम हुनुपर्छ यति धेरैको संख्यामा प्रवासतिरको यात्रामा होमिनुको वाध्यता । यी बाहेक अरु आफ्नै खाले केहि समस्या थिए होला । आ–आफ्नै खाले समस्या, वाध्यता र सपनाको कुम्लो कुटुरोका भरिया बनेर जानेहरुको भीड म पनि सामेल थिएँ । हाम्रो ग्रुपको एघार जना कतार स्थित एउटा रेडिमिक्स कम्पनीको श्रमिक भिषामा पसिना बेच्न बेगिन तम्तयार थियौ ।
विहानको ९ बज्नुसँगै हामी चढेको नेपाल एयरको एयरबसले विमान स्थललाई पर्खि बस्नु भन्दै जमिनसँगको नाता टुटायो । विमानले हामी सयौ नेपालीलाई दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमान स्थल पुर्याउने जिम्मा लिएको थियो । विमान माथि–माथि गगन माथि पुग्यो । बिस्तारै बादलको घेरा बन्दिलाई छिचोलेर बादल भन्दा पनि माथि पुग्यो । सबै यात्रुका यथा-स्थानमा खानाका पाकेटहरु हाजिर भए । खाना खाने काम तमाम भए । विमान आफ्नै गतिमा बेगिदै थियो म भने अनेकन शंका उपशंकाका घेरा बन्दिभित्र कैदी बनेको थिएँ । कस्तो ठाउँ होला ? काम कस्तो पर्ला ? यस्ता यस्तै हुने नहुने कुराहरुको युद्ध मच्चाई रहँदा जहाजका परिचारीकाले हामी दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण गर्दैछौ कृपया आफ्नो सिट बेल्ट लगाउनुहोस् भन्ने अनुरोध सुन्दा हामी चढेको विमानले काठमाडौ– दिल्लीसम्मको यात्रा पुरा–पुरी नापी सकेको चाल पाएँ । हतार-हतार हुने नहुने शंकालाई थन्काएर मैले पनि सिट बेल्ट बाँधे । काठमाडौं–दिल्लीको हवाई यात्रा आरामदायी भयो । बाटोमा केहि डर लाग्दो अवस्थासँग जम्का भेट भएन । हाम्रा गोर्खालीहरु हवाई जहान उडाउनमा निक्कै पोख्त रहेछन् । हामीलाई बिना समस्या त्यहाँसम्म पुर्याई दिएकोमा मन मनै धन्यवाद दिएँ । विमानले भारतिय भूमीमाथि जमिनसँगको नाता जोड्यो । हामी बाहिरीयौ । त्यहाँ हामीले एक घन्टा रोकिनु पर्ने थियो अर्को विमानको पर्खाईमा ।
कृपया ध्यान दे ! एअर ईन्डिया से मुम्वैई जाने वाले सभि यात्रु ३ नम्वर गेटका और बढे । यहि सुचनालाई आधार मान्दै हामी ३ नंम्वर गेट अगाडी जम्मा भयौ । हाम्रो हाते ब्याग चेक भयो । त्यसपछिको बाटोले हामीलाई घुमाउदै भित्र-भित्रै विमानभित्र पुर्यायो । हामीले बोर्डिङ्ग पासमा अंकित भएको सिट नंम्वरमा आ–आफुलाई बसायौ । विमानका परिचारीकाले आपतकालिन अवस्थामा अपनाउनु पर्ने सावधनी र सुरक्षाका तरिकाबारे हिन्दी र अंग्रेजीमा बेलि बिस्तार लगाए । विमानले जमिन छाड्ने तयारी गर्न थाल्यो । सिट बेल्ट लगाउनु पर्ने सुचना उर्दि भयो । काठमाडौं–दिल्लीको जस्तै रहोस् बाँकी यात्रा भन्दै पितृ–पुर्खा र इष्ट देवी–देवतालाई सम्झिएँ । आकाशनै छेडुला भने जसरी विमानले जमिनसँगको दुरी झन झन तन्काउदै गयो । नास्ताका सामग्री हामी सबै माझ आयो । यो पल्टको यात्रामा विमानले धेरै पल्ट ढलफल गरेको आभाष भयो । धुले सडकमा गुडेको बसले झै हल्लाउँने त कहिले धेरै तल झार्ने गर्यो । मुटू त्यति बेला काँप्थे । एकदम डर लाग्थ्यो । यस्ता घटनाहरु यात्राका क्रममा धेरै पटक दोहोरिए । मेरो अनुमानले मलाई सम्झाउने पारामा भन्न थाल्यो यहाँका चालकहरु हाम्रो तिरका जस्ता पोख्त रहेनछन् । यस्तै खाले खिचडी पकाउँदै थिए कृपया ध्यान दे भन्ने उर्दीले म झस्किएँ । शुद्ध तथा शालिन भाषामा त्यो आवाज अगाडी बढ्यो । हामी सवार विमानले मुम्वैईको छत्रवदी शिव जी अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण गर्ने तयारीमा जुटेकोले सिट बेल्ट लगाउँन अनुरोध दिएर त्यो आवाज हरायो । विमानले मुम्वैईको जमिनसँग नाता जोड्यो । हामी विमानसँग जोडिएको बाटो पहिल्याउँदै यात्रु प्रतिक्षालय हलभित्र पुग्यौ । त्यहाँ ७ घन्टा गुजार्नु पर्ने थियो । ७ घण्टा पछि मात्र हामीलाई हाम्रो गन्तव्य स्थल कतारको दोहा शहरमा पुर्याउने विमानको पालो आउने रहेछ ।
प्रतिक्षालय सुविधा सम्पन्न थियो । आरादायी कुर्चि । नजिकै शौचालय । चमेना गृह । त्यो प्रतिक्षालयमा हामी ११ भाई नेपालीमात्र थियौ । हामीलाई अर्को सुचना नआएसम्म त्यहि कुर्न भनिएको थियो । कोही हाते झोला त्यहि फ्याँकेर यताउती गर्न थाले कोहि कुर्चिमा बसेर हुने नहुने लख काटेर गफ चुट्न थाले । हामी जसरी भएपनि घण्टा सातेकलाई पछाडी पार्नु थियो । घुम्न निस्केका केहि चुलबुले मित्रहरु घुम्दै चमेना गृहमा पुगेछन् । चमेना गृहमा केटी देखेकोले चिया खाने सल्लाह भएछ । चिया मागेछन् । पहिले भुक्तानी गर्नु पर्ने भएकोले प्रति कप ८० भारुका दरले हुन आउने रकम माग गरेछिन् क्यासिएरले । साथीहरु एकछिन् अलमलमा परेछन् । त्यस ताका नेपालमा पेटभरि मासुभात बजाउदापनि त्यो भन्दा कमै पर्थ्यो । साथीहरु नखाउँ भने दिभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहारको स्थितीमा परेछन् । गोजीमा केहि भारु कोचेका एउटा साथीले भारी मनले पैसा निकालेर तिरेछ ।
चुलबुले साथीहरु एक अर्कालाई आरोप पत्यारोप लगाउँदै हाम्रो समुहमा मिसिए । साथीको कुरा सुनेर हामी खुब मज्जाले हाँस्यौ । केटी देख्न साथ हाम फाल्ने हरिलठ्क मित्रहरुले सायद त्यहाँको घटनाले राम्रो शिक्षा बटुले होलान् । केटी भएकै कारणले त्यो बेला मित्रहरुलाई चियाको तलतल लागेको थियो । त्यहि चियाको प्रसंगले हामीले पखाईको समयलाई पछाडी धकेल्यौ । चियाको बहस चलि रहँदा समय कटेको पत्तो भएन । शुरुको समयमा कसरी कटाउने होला यति लामो समय एकै ठाउँमा बसेर भन्ने चिन्ताले मज्जाले गाँजेको थियो । बहसले निकास नपाउँदै हामीले विमान तर्फ जानु पर्ने सुचना जारी भयो । हामीलाई समयमै दोहा सम्मको यात्रा नाप्नु थियो । मनभरि अनेकौ शंका उपशंकालाई बोकेर हाम्रा पाईलाहरु विमान तर्फ लम्किए ।
0 comments