आत्मपरक कथा– घात
आफ्नो वास्तविकतामाथि पर्दा गरेर कसैले, कसैको मन जित्न खोज्छ भने यसलाई म कसरी माया भनुँ ? साँचो माया गर्नेहरुले एक-अर्कामा पर्दा गर्न सक्छन् त ? उसको असली रुप मेरा अगाडी दुधको दुध, पानीको पानी भएर बगि रहँदापनि मैले मायाको खातिर माफि दिएकी थिएँ । त्यस्ता भूलहरु दोहोरिदै जान थालेपछि माफि दिनुको कुनै औचित्य रहन्न भन्ने मेरो ठम्याँई आफैमा घातक नहोला । हिजोका दिनहरुमा हामीले देखेका साझे सपनालाई थाँती राखेर हाम्रो सम्वन्धले भोलिका दिनहरुमा निम्त्याउन सक्ने दुर्घटनाबारे सोच्न वाध्य भएकी हुँ ।
घरकी कान्छी छोरी सबैको लाडप्यारमा हुर्किएकी मलाई दुःख, पीडा कहिल्यै अनभुत गर्ने अवसर मिलेन । मेरो बालापन सुखद रहेर बित्यो । जब म ठुली भएँ । मलाई मेरो दायित्व बोध हुन थाल्यो । आफ्नै खुट्टामा उभिने चाहानाले गाँज्यो । तब म रोजगारीका लागि परदेश भासिने योजना बुन्न थाले । परिवारका सपनालाई लत्याएर आफु लाहुर खान जान आफुलाई तयार पार्न थाले । उहाँहरुको सपना थियोे । मैले धेरै पढोस् भन्ने । मैले धेरै पढ्न सकिन । मलाई आफै कमाउने रहरले त्यसो हुन दिएन । अन्तमा मेरो जिद्धीको कारण परिवारले घुँडा टेक्नै पर्यो । मनभरी अनेकन सपनाहरुको कुम्लो बोकेर एकदिन म परदेश तर्फ हानिएँ ।
मेरो परदेश बास सोचेँ भन्दा पनि सहज भयो । आफू हुर्कि बढेको ठाउँ जस्तो थिएन पदरेश । सबै फरक विल्कुलै फरक । फरक परिवेशमा आफुलाई ढाल्न मलाई खासै असजिलो भएन । हरेक कुराको सुविधा सम्पन्न देशमा रोजगारी भेटेकाले पनि हुन सक्छ । काम सजिलो परेकोले पनि हुन सक्छ । आफू पूर्ण रुपमा सुरक्षित भएको बोधले पनि हुन सक्छ । यो सब भए पछि मलाई परदेश रमाईलो लाग्नु स्वभाविकै थियो । महिना मैजारो हुनसाथ हातमा दाम पर्न थालेपछि त उधुम रमाईलो लाग्न थाल्यो परदेशको बसाई । मेरो मजदुरीमा साहु पनि खुशी थियो । उसले सुम्पेको जिम्मेवारी मैले बफादारीताका साथ फत्ते पार्ने गरेकी थिएँ । यसरी नै दिनहरु बित्दै थिए ।
अचानक एकदिन मैले त्यो कामबाट हात धुनुपर्ने अवस्था आयो । साहुलाई त्यसपछि मेरो जरुरत नपर्ने भयो । मैले गोठाला लाग्नु पर्नेनै यो संसारमै नरहेपछि मेरो त्यहाँ आवश्यकता नरहनु स्वभाविकै थियो । ज्याला मजदुरीको लागत मैले पाएपछि म नयाँ साहुकोमा काम गर्न थाले । त्यहाँको काम पनि औधी सजिलो थियो । त्यसैले पनि हुन सक्छ कहिल्यै पनि मेरो भागमा परेको मेलापात गर्दा अवाक बनिन ।
इन्टरनेटको सुविधा उपभोग गर्न पाउने भएकोले कहिले काही फुर्सदिलो समयमा म पनि साइवर दुनियाँतिर छिर्थे । त्यस ताका सामाजिक सञ्जालका साइटहरु धमाधम खुल्न थालेका थिए । मैले पनि केहि सामाजिक सञ्जालहरुमा आफ्नो खाता खोलेकी थिएँ । साइवर संसारमा रमाउँदै गर्दा हाम्रो चिनजान सामाजिक सञ्जाल फेसबुक मार्फत भयो । हामीवीच भलाकुसारीहरु बाक्लिन थालेपछि उसैले एकदिन प्रेम प्रस्ताव राख्यो । त्यति बेलासम्म उ पनि मलाई मन पर्न थालिसकेको थियो । तरपनि मैले उस्को प्रस्ताव स्विकार्न आनाकानी गरेँ । हामी बीच बाक्लिदै गएको सम्पर्कले गर्दा अन्तमा मैले उस्को प्रस्ताव स्विकारे । साहुको हाजिरा दिएर बचेका अधिकांश समय हामी गफिएर बिताउने दैनिकी बन्दै गयो । त्यस ताकाका वार्तालापहरु भोलि केद्रित हुन्थे । कैयन स्वर्णिम सपनाहरु मिलेर देख्थ्यौ । त्यति बेलाका हरेक पलहरु रमाईला बित्थे । समय बितेको पत्तै हुन्नथ्यो ।
समयको काम चल्ने हो । उ निरन्तर चलिरहन्छ । कस्ले रोक्न सक्ने । यो हाम्रो क्षमता भन्दा बाहिरको कुरा हो । नत आजसम्म भए गरेको प्रविधिका विकासले नै रोक्न सक्यो । न भोली नै रोक्न सकने छ । बस उ त चलिरहन्छ, सेकेन्ड, मिनेट घन्टा हुँदै । हिजो, आज भोली, महिना र साल हुँदै । हामी बीचको सम्वन्धपनि छिप्पिदै गएको समयकै रफ्तारमा हिजो भन्दा आज झन छिप्पिदै गएको थियो ।
मसँगको सम्वन्धलाई उसले कुन स्थानमा राखेर हेर्यो त्यो मलाई थाहा भएन । म भने उसँगको सम्वन्ध झाँगिदै जाँदा औधी खुशी थिए । आफूलाई खुब स्यावासी दिन्थे । आफू यो संसारकै भाग्यमानी मान्छे हुँ भन्थे । साँच्चिकै भन्नु पर्दा उसँगको सम्वन्धले ममा उर्जा भरेको थियो । मलाई केही राम्रो गरौ, मैले केही राम्रो गर्नु पर्छ भन्ने भोक लागि रहन्थ्यो । यसो हुनुमा सायद उ प्रतिको अटल विश्वास, माया र समर्पण थियो । मैले उ प्रति निर्वाह गर्दै आएको बफादारीमाथि सायद भगवानलाई पनि डाहा लाग्यो क्यारे । जोगाउन खोज्दा खोज्दै हाम्रोे सम्वन्धले दोबाटालाई बोलायो ।
मैले सोच्नसम्म भ्याएकी थिइन कि हाम्रो सम्वन्धमा कुनै दिन चिसोपना आउला भनेर । हाम्रो सम्वन्ध बालुवाको घर होईन भन्नेमा म पूर्ण विश्वस्त थिए । सम्वन्ध टिकाउनका लागि मैले आफ्नो कर्तव्य इमान्दारीताका साथ निभाएकी थिएँ । तर एक्लो प्रयासले सम्भव नहुने रहेछ । मेरो हिजोका भोगाईले यस्तै पाठ सिकायो ।
मेरो बुझाईको प्रेम यात्रालाई नेटकै माध्यमबाट हामीले सकुशल दुई सालसम्म गुडायौ । त्यसपछिका दिनहरुमा हामी बीच खटपट हुन थाल्यो त्यसको प्रमुख कारक उ खुद थियो । उसले आफ्नो कालोहरु मसँग लुकाएको रहेछ । उ विवाहित २ सन्तानको पिता रहेछ । यो कुरा मैले तेश्रो ब्यक्ति मार्फत थाहा पाएँ । उसको बारेका नराम्रा कुरा कसैले ओकली रहेको पल म एकाएक छाँगाबाट खसे झैँ भएँ । आकाश झरेर मलाई मिचै झैँ लाग्यो । धरती भासिए झैँ लाग्यो । मनले कामना गरि रहन्थ्यो यो सब झुटो सावित होस् भनेर । तर सत्य सत्यनै हुन्छ । त्यसलाई पर्दामा राख्न कहाँ सकिन्छ ।
उ प्रतिको निश्चल आस्थाले गर्दा त्यो घट्नालाई सहज पचाएँ । उसले माफी माग्यो । मैले माफी दिएँ । हाम्रो सम्वन्ध फेरि पहिलेको झैँ भयो । फेरि हामी रमायौ करीव एक साल उसै गरी । तर फेरी उस्को अर्को झुटको पर्दा खुल्यो । त्यसपछि भने मैले सजग बन्नैपर्ने भयो । पटक–पटकको झुट पचाएर सम्वन्धलाई निरन्तरता दिनु भनेको मेरै मूर्खता थियो । त्यसैले उ र उसको जाली मायाबाट बाहिर निस्कने बाटो खोज्न थाले । त्यसपछिका दिनहरुमा उसको ज्याद्धतीहरु झन बढ्न थाले । मलाई फोन मार्फत सताउन थाल्यो । आफ्नो गल्ति बोध गरेर झुक्नुको साटो उल्टै धम्किको भाषा बोल्न थाल्यो । मेरो भावनाको कदर कहिल्यै गरेन । पटक-पटक धम्कीका भाषाहरु बोलेर उ प्रतिको मेरो झुकावमाथि बितृष्णा हुर्काउन सहयोग आँफैले गर्यो ।
हिजोसम्म सुनिरहुँ लाग्ने त्यही बोली मलाई बिजाउन थाल्यो । मेरो निःस्वार्थ समर्पण र उसको दोश्रो अनुहारलाई केलाउँदै कैयन प्रहरहरु जाग्राम बसेर सिरानी भिजाई रहे । मेरो बारे जानकार शुभचिन्तकहरुले आकाश पताल जोडेर धेरै सम्झाए । तर पनि मन हो कहाँ सजिलै मान्थ्यो । उल्टै मेरो आत्माले उनीहरु गलत छन् भन्थ्यो । तर जिन्दगीले केही गर्नु थियो । ‘सुख त केवल पाहुना हो, दुःखनै जीवनको साथी हो ।’ मलाई उ बेला यसो भन्ने मान्छेहरुसँग सारो जिस्राम चलेर आउँथ्यो । म उतिबेला भन्ने गर्थे यो सब आफैमा भर पर्ने कुरा हो । आफुले जस्तो बनायो त्यस्तै हुन्छ जीवन भनेर त्यसो भन्नेहरुको मुखमा कयौ पल्ट बुझो लगाएको पल सम्झेँ । जिन्दगी आफैमा सुन्दर छ । दुःखी या सुखी राख्नु यो सब आफ्नै हातको कुरा हो । आफ्नो जिन्दगीलाई आफैले सजाउन जान्नुपर्छ भन्ने चेत खुलेपछि, दायित्व बोधले पटकपटक घोच्न थाल्यो । फेरी एक पल्ट मैले हाम्रो सम्वन्धलाई केस्रा-केस्रामा केलाएर समाधान खोज्ने प्रयत्न गरेँ ।
एक हातले ताली बज्दैन । बजाउन खोज्नु आ मूर्खता हो । मलाई पनि त्यो गल्ति गर्न जाँगर चलेन । जानि–जानि जोखिमपूर्ण यात्रामा आफूलाई होम्याउँन मनले मानेन । जब उसले मेरो भावनाको कदर गर्दैन । कहिल्यै मलाई बुझ्ने प्रयास गरेन । म प्रति समर्पित र बफादार छैन । माया गरेको बहानामा उल्दै बिजाई रहन्छ भने मेरो एक्लो समर्पण अर्थहिन बन्छ । विचारहरु सधैँ बाझिन थालेपछि सहयात्रा औचित्यहिन हुन्छ । यो अवस्थामा यात्रा कहिल्यै पनि सुरक्षित रहन्न । उसले कहिल्यै पनि उसँग म सुरक्षित रहन्छु भन्ने कुराको अनुभूति गराउँन सकेन । असली अनुहारमा पर्दा हालेर मेरो सामु प्रस्तुत भयो । निःस्वार्थ माया गर्नेलाई झुटको सहारा लिनु आवश्यक हुन्न । तसर्थ उसको झुटो मायालाई माया हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । यसरी उ गलत भएको यथेष्ठ प्रमाणहरु मेरो अगाडी बिस्कुन लागेपछि मैले बिकल्प खोज्नु गलत होइन । बाँकी यात्रा सहज पार्न यो सब कर्मको खेल भनेर मन बुझाउनुमा बुद्धिमानी हुन्छ । त्यसैले मेरो भागको प्रेम यतिनै रहेछ भनेर समय छँदै यी पाइलाहरु अन्तै मोड्ने निश्कर्षमा पुगेकी छु । अब कदापी मेरा पाईलाहरु उ भएतिर मोडिने छैनन् । पहिलो प्रेमले टुक्रा–टुक्रा पारेको विश्वास, समर्पण र सपनाहरुको तोक्मा टेक्दै जिन्दगीमा नयाँ जीवनका आशा खेप्न धेरै टाढा जाँदैछु ।
0 comments