कविता– युद्धभित्रको युद्ध

सूर्यको उदयसँगै युद्ध मैदानमा
जीवन कुल्चदै हिड्नेहरु हो
तिम्रा बिभत्स जीतहरुलाई
म कदापी सलाम गर्ने छैन ।

किनभने–
हाँसी रहेका कमलको फूलभरि
रगत पुछेर धारीलो संगिनहरुले
के बुझ्ला मानिसहरुका संबेदना ?
तिम्रा बहादुरी नापेर दिइएका
छातीका तक्माहरुमा
तिमीले शत्रु ठानेर मारेका
तिमीजस्तै यो भुगोलको मानिसहरुका
रगत ह्वास् ह्वास गन्हाउँदै छ ।

कस्ले दियो तिमीलाई
मान्छे मार्ने अधिकार ?
कुनै क्रुर शासकले
या तिम्रै स्वाभिमानले ?
तिम्रो विजयोत्सवको कक्टेल पार्टिमा
म पटक्कै रमाउन सकिन
तिमीले मृत्युदण्ड दिएका
तिमीजस्तै सैनिकका घरमा
शोकसभा भई रहँदा
तिमी कसरी मनाउँन सक्छौ
विजयशोभा ?

युद्धभित्र युद्धहुँदा
शत्रुका रुपमा विभाजित मान्छे
मानवताको तारो लगाई रहेका
अत्याधुनिक हतियार
सम्भवत मानिसनै शिकारी
मानिसनै सिकार
ऐ मान्छेको शिकारी मान्छेहरु हो
तिम्रो बहादुरीलाई म सलाम गर्दिन ।

तिमीले जीतेका प्रत्येक पलहरु
अरुका लागि हारहुन
र–
म किन्चित सहमत छैन
तिम्रो– युद्ध कलासँग
किनकी–
तिम्रै कारण
जीवन मृत्युमा परिणत भएको छ
कतिको– सहारा गुमेको छ
कतिको– सपना उडेको छ
कतिको– सिउँदो पुछिएको छ
कतिको– कोख रित्तिएको छ
परिणाम
फेरि एउंटा युद्धको शुरुवात भएको छ ।

0 comments

Post a Comment