कथा– समर्पण
‘एउटा साथीको साथले कति फरक पार्दछ जीउनुमा ।’ सत्य होला एउटा मान्छे पूर्ण बन्नका लागि अर्को पूर्ण मान्छेको साथ चाहिने रहेछ । हाम्रो सहयात्राको तीस बसन्त निफन्दा यो भनाई सत्य रहेछ भनेर बल्ल पत्यार लाग्यो । हिजो झैं लाग्छ हामीले नयाँ जीवनको शुरुवात गरेको । आज औला भाँचेर हेरेको खर्लप्पै गोडा तीसेक बसन्त निलिसकेका रहेछौं । मलाई आज फेरी तीस बर्ष पहिलेदेखी आजसम्म हामीले पार गरेका जीवनका आरोह अवरोहरुलाई खोतल–खातल गर्न मन लाग्यो ।
ऊ बेला उनी घरबेटीकि छोरी थिईन् । त्यहाँको स्थानीय नि.मा.बिमा मेरो दरबन्दी परेको थियो । घरबाट अध्यापन गराउन जान हम्मे–हम्मे पर्ने भएकोले मैले त्यस घरमा डेरा लिएको थिएँ । त्यो घर विद्यालय नजिक थियो । साँझ–विहान स्थानीय केही विद्यार्थीहरु डेरामा सिक्नका लागि आउथे । पछिल्लो दिनहरुबाट त्यो समूहमा उनी पनि थपिईन् । त्यस ताका उनी एसएलसीको तयारीमा थिइन् । विहान सख्खारैदेखि राति अवेरसम्म सिकाउने र सिक्ने हाम्रो दैनिकी बन्न थाल्यो ।
गहुँ गारो वर्ण, लामालामा केशराशि र लजाउलु स्वभावकि थिइन् उनी । अठारौं बसन्तलाई फार्दै गरेकी उनीसँग अप्सरालाई मात दिने सुन्दरता थियो । खुदको सरलता र लजालुपनले सुनमा सुगन्ध थपेको थियो । हामीमा गुरु र चेलाको सम्वन्ध पुरानो हुँदै गर्दा मैले भने दिन दोगुणा रात चौगुणाको रफतारले उनीलाई चाहन थालेको थिएँ । यो आर्कषण, चाहत भन्ने चिज पनि नसक्नु मापाको हुँदो रहेछ । न सम्झाउँदा सम्झिने, न फकाउँदा मान्ने । दायाँ बायाँ सोच्दै नसोचि, हेर्दै नहेरी लागेपछि एकोहो लागिरहने । वास्तवमै भन्नु पर्दा मान्छेको मन पापी हो । आँखा लोभि हो । राम्रो आफ्नै होस् भन्छ ।
बेला बेलामा मभित्रको मान्छेले मलाई नमज्जासँग हकाथ्र्यो । मेरो रहर र सपनासँग सहमत हुन मान्दैन्थ्यो । कुनै हदसम्म त्यो मान्छे आफैमा गलत पनि थिएन । गुरु भएर चेलालाई त्यो नजरले हेर्नु नैतिकता नहुनु हो । मन त हो सम्झाउँदैमा के मान्थ्यो । चाहातको भेललाई बाँध हाल्न नसकेपछि मैले हिम्मत गरेरै उनीसामु सपनाहरुको बिस्कुन लगाउने योजनाहरु बनाउँन थालें । उनीबाट मेरो प्रस्ताव अवश्य पनि स्किार्य हुने छ भन्ने स्वघोषित विश्वासको लौरी टेक्दै ।
सधैंजसो त्यो दिनपनि उनी किताव च्यापेर म बस्ने कोठामा आइन् । सायद संयोगले होला त्यो दिन अरु कोही आएका थिएनन् । म भित्र भित्रै खुशी बने । मनको पोका उनीसामु खोल्ने त्यो भन्दा अरु उत्तम समय नहुन सक्थ्यो । मैले आफुलाई दह्रो बनाएँ । मनको कुरा एक सासमा भनेर विश्राम लिएँ । उनी त्यो बेला लाजले केही बोलिनन् । रातोपिरो अनुहार पारेर भूइँतिर हेर्दै बसिन् । त्यो दिन न त मैले उनीलाई सिकाएँ न त मसँग नजानेको कुरा नै सोधिन् । विद्यालय जाने समय भएपछि चुपचाप कोठाबाट बाहिरिइन् ।
म त्यो दिनभरि चैनले बस्न सकिन । मैले गरेको अपराध बोधले बसिखान दिएन । त्यसो गर्नु सहि थियो या गलत यहि प्रश्नले मलाई दिनभरि नमज्जासँग गाँज्यो । मनभरि हुने नहुने शंका, डर त्रासले मलाई खेदो गर्नसम्म गर्यो । मैले खेपेको समस्याको बोझ सायद मेरो अनुहारमा परेछ क्यारे सहकर्मीहरुले अनेकन प्रश्नको बर्षा दिनभरि जसो गराए । प्रतिउत्तरमा म ठिक छु, केही भएको छैन भन्ने प्रतिवाद गरेर त्यो दिनको जागिर पकाएँ । जागिर त पाक्यो अव डेरा जाने कुराले झस्कायो । विहानको घट्नाले कस्तो मोड लिने हो साँझ डेरामा भन्ने पिरलोमा पिल्सदै बलैले पाइला डेरातर्फ बढाएँ ।
डेरा घरमा पुगेपछि कतै नजर नडुलाई सिधै कोठामा पसें । घरको वातावरण जान्न कानलाई भने सेन्ट्र्रीमा राखे । सायद उनले विहानको घटनालाई लिएर घरपरिवारको कान भरिनछिन् क्यारे घरको वातारण सदाको झैं साधारण र शान्त पाएँ । यसो हुनुमा मैले जितेछु भन्ने लाग्यो । आफ्नो जितको भनक पाउँदा आफैले आफैलाई स्यावासी दिँदै मनमनै उनीलाई धन्यवाद दिन भ्याएँ । साँझ कोठामा एक्लै परेँ । सिक्न कोही आएनन् । उनीपनि आउने हिम्मत गरिनन् ।
अर्को दिन उनीले मेरो प्रस्ताव स्विकारेको जानकारी गराईन् । उ बेला जिन्दगीमा पहिलो पल्ट धेरै खुशी मिलेको अनुभूत गरेँ । त्यसपछिका दिनहरु आफै रंगीन बन्न थाले । हामी मिलेर भोलिका बारे सुन्दर संसारको रुपरेखा कोर्नमै व्यस्त रहन थाल्यौ । रमाईलो र उर्वर भएर दिनहरु गुज्रन थाले । उनीले एसएलसी परीक्षा दिएपछि घरबाट भाग्ने योजनामा हाम्रो सहमति भयो । हामी दुबैजना त्यो दिनलाई पर्खन थाल्यौ । परीक्षा सकिएपछि कत्ति पनि ढिला नगरी गाँउ छाडेर भारततिर भासियौ ।
सात आठ महिना भारतको सिलगुढीमा बिताएपछि हामी घर फर्किएयौ । उ बेलासम्म मेरो जागिर खुस्किसकेको थियो । जागिर गुम्दा मलाई उत्ति सारो दु:ख लागेन । लागोस् पनि कसरी मसँग बसन्तीको न्यानो माया र साथ थियो । म बसन्तीसँगको सहयात्रामा जस्तो सुकै दु:खका सुमेरुपनि उक्लन सक्ने बलियो भएको थिएँ । हामीबीचको सहमतिमा जागिरले भन्दा खेती किसानीले प्राथामिकता पाएको थियो । बाउ–बाजेले आर्जेका खेतबारी बिस्याहार भएर बाँझै पल्टिरहेका थिए । बसन्तीको चाहनाअनुसार हामी खेतबारीको सुसार गर्ने निष्कर्षमा पुगेका थियौ ।
घरमा बाबा र साना दुई भाई बहिनी थिए । आमाले केहि सालपहिले हामी चार जनालाई छाडेर परलोक छिर्नुभएको थियो । बाबाले अर्को बिहे गर्ने मन गर्नु भएन । आफन्तहरुले खुब कर गरेका थिए । आमा प्रतिको सर्मपण थियो या सन्तानप्रतिको माया र दायित्व । कारण जे भएपनि हामीमाथि सौतेनी आमाको छाया पर्न दिनुभएन ।
बसन्तीको काँधमा ठुलै जिम्मेवारी थपियो । भाइबहिनीको रेखदेख लगाएत घर सम्हाल्नु । बसन्तिको साहसलाई मान्नैपर्छ । अल्लारे उमेरमा कत्ति पनि बिचलित नभै सबै सम्हालिन् । भाईबहिनीलाई आमाको अभाव बोध गर्ने मौका कहिल्यै पनि दिइनन् । यदाकदा सुनेको थिए आइमाई मान्छे लक्ष्मी हुन् रे । ममताका खानी हुन रे । बसन्तीको व्यवहारले मलाई पत्यार लाग्यो । आमा भगवानको प्यारो भएपछि हाम्रो घर सबै भएरपनि केही नभए झै भएको थियो । बाबाको एक्लो प्रयासले कहिले पनि घरको अध्यारो हट्न सकेको थिएन ।
बसन्तीको पाइला हाम्रो घरमा परेपछि हाम्रो घरले काँचुली फेर्यो । ममात्र होइन छरछिमेकीहरु पनि यस्तै भन्थे । फलनाको बुहारी त कस्तो लच्छिन छे । बुहारी होस् त यस्तो पो । बसन्तीका बारेमा मेलापाल, पधेरो, चौतारोतिर यस्तै चर्चा सुनिन्थे । हाम्रो सहयात्राको यतिका बर्षसम्म बसन्तीको बारे छिमेकमा कसैले पनि नराम्रो कुरा काटेको हेक्का छैन । घर त घर भइहाल्यो छरछिमेक इष्टमित्रलाई पनि बसन्तीले रिझाउन भ्याएकी थिइन् । अझै पनि उनी घर, छिमेक सबैको प्यारो पात्र छिन् ।
हाम्रो सहयात्राले तीस बर्ष खापिसक्यो । आजसम्म कहिल्यैपनि हाम्रो विचार बाझेको याद छैन । सायद यो बसन्तीकै त्यागको कारण होला । यतिका बर्षसम्म मलाई थकाइले च्याप्न सकेन । हरपल मलाई बसन्तीले राम्रो गर्नका लागि हौस्याइरहिन । बसन्तीले मेरो जीवनमा गर्व गर्नुपर्ने थुप्रै अवसरहरु मेरो पोल्टामा भण्डार गर्न कुनै कसर बाँकी राखिनन् । सदैव मेरो भावनाको सम्मान गर्दै मेरो खुशीका लागि थुप्रै युद्ध लडिन् आफू एक्लै । आज पनि हामी एक अर्काको साथमा हिजोझै खुशी छौ । भाइबहिनी, छोराछोरीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनायौ । साँच्चि भन्नुपर्दा हाम्रो सन्तानलाई बसन्तीले असल शिक्षा र सस्कार दिइन् । सन्तानलाई एउटा जिम्मेवार नागरिक बनाउनुमा बसन्तीको ठूलो हात छ । आज सन्तानको जितहरु नै हाम्रो बुढेसकाल लखेट्ने दह्रो लौरो भएको छ । एउटा अभिभावकलाई सन्तानको जितभन्दा ठुलो प्राप्ति अरु नहुन सक्छ ।
हाम्रो सहयात्रालाई केलाउँदा यस्तो लाग्यो घर सपार्नु या बिगार्नु यो सब महिलाको हातमा हुन्छ । साँच्चिकै हरेक स्वास्नी मान्छेहरु बसन्तीजस्तै बन्ने हो भने यो धरती स्वर्ग नै बन्थ्यो होला । हरेकका सन्तानहरु असल नागरिक बन्थे होला । छिमेकमा सबैसँग सुमधुर सम्वन्ध रहन्थ्यो होला । असल मान्छेले असल घर बनाउँछ, असल समाज बनाउँछ र असल देश । हुन त एक हातले ताली बज्दैन र एक्लो प्रयासले मात्र पनि यो सब हुनु सक्दैन । महिला मात्र पनि होईनन् घर बिगार्ने यहाँ कयौ पुरुषहरु पनि उदाहरणका पात्र छन् । जस्को कारणले घर, समाज र देश खराव बनेकाछन् । यहाँ एकले अर्कोलाई होच्याउनु भन्दा हामी एक अर्कोमा बफादारी र समर्पित रहन सक्नु पर्छ । असल बन्नको लागि पहिलो कदम आफैले थाल्नु पर्छ । तबमात्र असल घर, समाज र देशको निर्माण हुन सक्ला ।
सर्मपण र बफादारीबिनाको बैवाहिक जीवन एउटा डर लाग्दो रोग हो । एक रथको दुई पाँग्रा हुन लोग्ने–स्वास्नी । रथको एउंटा पाँग्रा पन्चर भयो भने रथको रफ्तारमा समस्या आउँछ । बस त्यो सम्वन्धपनि त्यस्तै हो । सर्मपण र बफादारीमा दुवैको बराबर उपस्थिति रहेन भने पाइला–पाइलामा दुर्घटनाहरुले कुरीरहेको हुन्छन् । यस्तो बेला यो सम्वन्ध नमज्जासँग दुख्छ । जीवन दुख्नका लागि होइन, केही गर्नका लागि हो ।
कान्तिपुर गल्फ साप्ताहिकको, वर्ष-७, अंक- २१, १९ जुन २०१४ मा प्रकाशित !
कान्तिपुर गल्फ साप्ताहिकको, वर्ष-७, अंक- २१, १९ जुन २०१४ मा प्रकाशित !
0 comments