संस्मरण– कता होलान् ती बाजे

ती बाजे यो दुरदेश रेगिस्तान बस्तिमा म भन्दा केहि साल पहिले श्रम बेच्न आएका थिए । म कम्पनीमा भर्खर नयाँ हुँदा बाजे पुरानो भै सकेका थिए । त्यस ताका उमेरले बाजेलाई गोडा पैतीसेकले पछि पारी सकेको थियो । मैले भन्दा धेरै भोटो फटाई सकेका र म भन्दा पाका उमेरका भएकोले बाजेलाई आदर गरेर बोलाउथेँ । हामी बस्ने कुटीको कोठा पनि नजिकै थियो । डियुटी सकेपछि र बिदा परेका दिन हामी बाक्लै भेट्थ्यौ । 

बाजे अर्थात खिम बहादुर खत्री पश्चिम नेपालको म्याग्दी जिल्लाबाट यता झरेका रहेछन् । केहि पैसाको जोहो गरेपछि गाँउबाट म्याग्दी बेनी बजार झर्ने सपना बोकेर कतार भासिएका बाजे एक छोरा र एक छोरीका पिता थिए । सायद परदेशमा हर परदेशीहरु यस्ता यस्तै सपनाहरुका कुम्लो बोकेर भासिदा हुन् । आफ्ना सपनाहरु लाई मूर्त रुप दिने दिलाषामा किम्ती श्रमलाई सस्तैमा लिलामी गर्न । सपनालाई सहि आकार दिनका खातिर खाडीको चालीस÷पचास डिग्रीको बैशालु घाममा आफूलाई सेकाउन पछि नपर्ने हरुको यो बजारमा श्रम बेच्न बाजे पनि लाम बसेका थिए । पूर्बी नेपालको म अनि बाजे पश्चिम नेपालको बासिन्दा । हामी दुबै जनाको घर एउटै देशमा भएता पनि चिनापर्ची भने यहि श्रम बजारले गरायो ।
शुरुका दिन हरुमा परदेशको हरेक पल कठिन बनेर गुज्रियो । फरक भाषा, फरक मान्छे फरक वातावरण भएको बिरानो बस्तिमा आफूलाई मिलाउन औधी गाह्रो भयो । तर मैले आफुलाई यहाँको चलन चल्तिमा ढाल्नै पर्ने थियो । श्रम बेच्ने चाँजोपाँजो मिलाउन नेपालमा गोडा पचासेक हजार खर्चि सकेको थिएँ । मलाई त्यो उकास्नु थियो । करैले आफुलाई यहाँको वातावरणसँग मिलाउँदै लैजान थाले । यो अभियानमा बाजे नै थिए मलाई साथ दिने ।
एकदिनको कुरा हो । म दिउँसो खाना खाने छुट्टीमा कुटीतिर जाँदै गर्दा बाटोमा भेटिए बाजे । मैले श्रम बेच्ने पसल र बस्ने कुटी बिचमा पथ्र्यो बाजेले श्रम बेच्ने ठाँउ । खास गरि त्यहाँ ताबुक (ईट्टा) बनाएर बिस्कुन लगाउँछ कम्पनीले । त्यही ताबुक (ईट्टा) लाई पानी पिलाउने काम गर्थे बाजे । बाजे ताबुक (ईट्टा) लाई पानी पिलाउनमै व्यस्त थिए । बाजे अगाडी पुगेर मैले खाना खानु भयो बाजे भनेको मात्र के थिए बाजे बम्किए । मेरो बाजे सम्बोधन बाजेलाई पच्य भएन छ । लाटो रिस म माथि पोखे । लौ गल्ति भएछ भन्दै म बाटो लागे । केहि दिन त बुढा मसँग बोल्दै बोलेनन् । कम्पनीमा अलिक नजिक मानेको बाजे नै मसँग रिसाउँदाको दिनहरु खल्लो भएर बिते । अलिक दिन पछि अब बाजेलाई दाई भन्छु भनेर बाजेसँग आफैले सम्झौता गरेँ । त्यसपछिका दिनहरुमा खिम बाजेबाट खिम दाई बने ।
त्यस ताका प्रायः सबै परदेशीहरुको घरदेश र परदेशलाई जोड्ने साधन चिठ्ठी नै थियो । उताबाट गाउँ घरको खबर अनि यताबाट यहाँको खबर चिठ्ठीले खेप्थ्यो । खिम दाई कनिकुथी नेपालीमात्र लेख्न पढ्न जान्दथे । म आए देखि खिम दाई रहुँन्जेल खाममा लेख्ने काम मेरो भयो । दाईले चिठ्ठी लेखेपछि पाउने÷पठाउने लेख्ने काम मलाई दिन थाले । कम्पनीको ड्राइभरले हेड अफिसबाट ल्याएको घरदेशको कोशेली (चिठ्ठी)हरु मेरो हातमा थमाई दिन्थ्यो । उताबाट चिठ्ठी आउन साथ मैले दाईको हात लगाई दिन्थे । खिम दाई चिठ्ठी हात पर्दा औधी खुशी हुन्थे । 
खिमदाईले कम्पनीमा पछिल्लो पल्ट श्रम बेचेको दुई साल पुगेकोले घरदेश जाने बिदा पाए । आफु त बल्ल उबेला एक साल पछि पार्दै थिएँ । खिम दाई घर जाने तयारीमा लागे । बुढो खुशी देखिन्थे । जाने बेला काठमाडौ सम्मका लागि मैले पनि एउटा पोको थमाई दिएँ । उताबाट फर्कदा काठमाडौबाट अर्को पोको बोकेर आउने शर्तमा । बुढो नेपाल उडे मनभरि परिवार इष्टमित्रसँग भेट्ने खुशी बोकेर । यति बेला सम्म म पनि पुरानै भै सकेको थिएँ । मज्जाले झ्याम्मि सकेको थिएँ । यहाँको वातावरण, भाषा र बस्तिसँग आफुलाई मिलान गरि सकेकोले खिम दाईको नेपाल उडालने खासै असर पारेन । 
पाँच महिनाको बिदा निलेर खिम दाई कतार फर्के । मेरो आफन्तको बाट केहि पोको पतेरो ल्याएका थिए । घरदेशको कोशेली हात पर्नु र अ‍ैचो–पैचो चल्ने मान्छे फर्कुनुको दोहोरो फाईदा हातमा लाग्दा खुशी लाग्नु अस्वभाविक होईन र त सायद म खुशी भएँ उ बेला । खिम दाईले यता छिरेको केहि महिना पछि खिमले छोरालाई पनि यहि कम्पनीमा ताने । यो बिदामा दाईले बेनी बजारमा घडेरी किन्न भ्याएछन् । दुई जनाले कमाउन थाले पछि बचतपनि दोब्बर हुन थाल्यो । हेल्परको काम गर्दा गर्दै छोरो चाँहिले यहाँको सवारी अनुमति पत्र हत्याउन सफल भयो । छोरोले गाडी चलाउन थाल्यो । हेल्पर हुँदाको कमाई भन्दा डबल हुन थाल्यो छोराको कमाई । दुई जनाले कमाउन थालेपछि सायद सपनाको घर बन्नलाई चाहिने क्याँट जोहो भए होला । छोरालाई यतै कमाउन छाडेर आफु घरदेश फर्किए । खिम दाई घरदेश फर्केको आधा दर्जन बर्ष पुराना भै सक्यो । मैले बाजे भन्दा आफु रिसाएको कुरा बेला बेलामा सम्झिन्थे । बारम्बार आफुले रिसाउनु गल्ति गरेको कुरा दोहोर्‍याउथे । भाई जस्तो सोझो मान्छेसँग रिसाउनु नहुनेथ्यो भनि रहन्थे । जाने बेला पनि त्यहि गल्तिको माफी मागे । अझै पनि बेला बेलामा खिम दाईको त्यो सोझोपन र लाटो रिस सम्झन मन लाग्छ । अचेल खिम दाई बुढो कहाँ के गर्दै होलान् ।
यात्रा न हो जिन्दगी । यात्रा गर्दै गर्दा कुनै मोडमा भेटिन्छ कुनै मोडमा छुटिन्छ । जिन्दगीका आरोह अबरोहहरुमा अन्तिम पल सम्मको साथी कसैको कोही बन्न सक्दैन । यो सम्भवपनि छैन । यहाँ हामी सबै बटुवालाई हतारो छ आ–आफ्नै गन्तब्यमा पुग्न । केहि उकाली ओराली सँगै हिडेता पनि कुनै चौतारी उँधो सँगै बिश्राम गरेता पनि कुनै कुनै दोबाटोनिर पुगेर सबैले छुटिनु छँदै छ । छुटिनु पर्छ पनि । बस हाम्रो साथमा रहने त केवल सम्झना हो । हामीले दिएर–लिएर जाने पनि यहि सम्झना हो । केवल सम्झना हो ।

0 comments

Post a Comment