नयाँ जिवनको शुभकामना ।

        इम्पी तिमीलाई सम्वोधन गर्ने अधिकार ममाथि निहित नरहनु–ले बिना सम्वोधनको यो शुभकामना पत्र स्विकार ल ?
      इम्पी तिमीले सपना देखाउनु गलत थियो या त मैले तिम्रो बोलीमा ताते गर्दै सपना देख्नु गलत थियो । कहीँ कतै गलत पक्कै भएकै हो । नत्र आज किन हामी नदिका दुई किनारा बनेर जिन्दगीका बाँकी यात्रा नाप्न विवश हुने थियौ । मान्छेले चाहे जस्तो जिन्दगी प्राय कमैलाई मात्र नसिव हुन्छ । मन त हो त्यसो भनेर बुझाउँन कहाँ सकिँदो रहेछ र ? त्यसैले त आज पनि मेरा पाईलाहरु दिग्ग भ्रमित गन्तव्यको यात्रा गर्दै छन् । यो मन न त तिमीलाई नै पूर्ण रुपमा दोषी करार दिन तयार छ, न त स्वंम आफैलाई दोषी मान्न तयार छ । यसर्थ पनि सहि गन्तव्यको खाका कोर्न म सधैँ असफल रहन्छु । लाग्छ यो जिन्दगीभर म असफलनै रहने छु ।
     इम्पी म हिजो आज हजारौका यो भीडमा सधैँ आफूलाई एक्लो पाउँछु । जिन्दगी केही गर्नुका लागि हो भन्ने बोध हुँदा हुँदैपनि, केही गर्न सक्षम हुँदा हुँदैपनि म निरीह भएर हाम्रो हिजोलाई केलाउनमै तल्लिन रहन्छु । केही गर्नका लागि यी पाईला अगाडी बढ्न अचेल सारो डराउँछन् । यसरी बाँच्नुमा केही औचित्य छैन जस्तो लाग्छ । जब म बाँच्नुको अर्थ खोज्न थाल्छु तब फेरि म बेस्सरी निस्सासिन्छु । 
इम्पी बलेको आगो ताप्नेहरुको भीडमा तिमी पनि सामेल भयौ । मान्छे स्वभावैले सजिलैको पछि दौडिन चाहन्छ । तिमीले पनि सायद त्यसैले विकल्प रोज्यौ हौली । तब त हाम्रो यात्रामा अचानक दोबाटो आए । त्यो दोबाटो जून मेरो परिकल्पना भित्रको थिएन । यद्यपी मलाई बाँकि यात्रा औचित्यहिन लागेको हुनसक्छ ।
इम्पी साधारण जिवनको पेरिफेरी रमाउने म मान्छेले असाधारण सपना देखेँ अनि पो त मेरा सपनाहरु कलिला मुनामै भाँचिए भनेर मन बुझाउँने कहीँ कतै दशीहरु हात लाग्दैनन् । त्यसो हुन सकेको भए पनि सायद बाँकि जिवनका यात्राहरु केहि हदसम्म सरल र सहज हुने थिए होलान् । खै कसरी मानु कि मैले मेरो बश भन्दा बाहिरको सपना देखेँ या आकाशको फलको चाहा गरेँ भनेर । हामी बिचमा त्यस्तो भिन्नता थियो भन्ने रति भरपनि मलाई लाग्दैन । सबै समान हुँदाहुँदै पनि किन हामीले हिड्ने गोरेटो अलग बन्न पुग्यो आज । यहि साधारण प्रश्नको जवाफ मसँग नहुनु–ले पनि आज ओराली लागेको हरिणको चाल भएको छ मेरा दैनिकीहरु । 
इम्पी सपनाकै कुरा गर्नु पर्दा यी बैशालु रहरले एउटा इमान्दार र आत्मिय सहयात्रीको आशा राख्नु गलत हो र ? त्यो पनि जात, बर्ग, धर्म तथा समान उच्चाई मिल्ने । हुन सक्छ सबै मिले पनि मात्र एक हातले ताली बजाउन खोज्नु मूर्खता । तर त्यो पनि होईन । तिमीले मेरा समवेदनाहरु बुझेरै त आफूले निर्णय लिएकी थियौ उ बेला । जुन बेला म जिवन मृत्युको दोसाँधमा पुगेको थिए । त्यो बेला तिमीले ओकलेकी बचनहरु मेरो कानमा अझै गुन्जयामान छन् । यदि म पागल भएँ भने मात्र हजुरको साथ निभाउन नसकुँला नत्र म जूनिजूनि हजुरको साथ निभाउनेछु । खै कसरी सज्जन हुँदैमा आफुले दिएको बचनबाट पर भाग्यौ ? मसँग त्यस्तो के खोट देख्यौ ? यस्तै÷यस्तै प्रश्नहरुको जवाफ न त तिमीले छुटिने बेला दियौ न त मैले स्व–जवाफ भेट्न सकेँ । तव त आज पनि बिना हावा हुरी केही गर्ने जीजिविषाहरु उडेर म भन्दा धेरै पर पुग्छन् । 
इम्पी म जिवन मृत्युको दोसाँधमा पुगेको बेला तिमीले नयाँ जिवन दिएर हो या तिमी प्रतिको निःश्वार्थ मायाको कारणले हो । तिमीले दिलको बस्ति सारेर नयाँ संसार सजाई भ्याउँदा पनि म भने तिमीले छाडेर गएको दोबाटोकै वरिपरी छु । खै किन हो कुन्नि म त्यहाँबाट चाहेर पनि कहिल्यै भागेर अन्त जान सकिन । जब जब म अलिकति साहस बटुले केहि फरक बन्ने प्रयत्न गर्छु मेरो ती प्रयत्नलाई भत्काउन तिम्रो याद मेरो बिरोधमा उत्रन्छ । अनि म फेरी हामीले हिजो साथमा बिताएका रमाईला पलहरुमा डुबुल्की मार्न पुग्छु । खै कसोरी तिमीले मेरो मनमा यसरी डेरा जमायौ । मैले चाहेर पनि तिम्रो विकल्प खोज्न र सोच्न सकिन । तिमी पराईको भएता पनि अझै मेरो आत्माभित्र तिम्रै हैकम चलि रहनु–ले नयाँ सपना सजाउन कहिल्यै सकिन । दुःखको कुरा यो धरतीमा मेरो हातबाट रतिभरको पनि राम्रो काम नहुने भो । साँच्चिकै भन्नु पर्दा हिजो आज म जिउँदो लाश बाँच्न थालेको छु । हामीले टेक्ने धर्ती एउटै भएता पनि तिमी मेरो समवेदना बारे बेखवर छौँ । हुन सक्छ नयाँ संसार सिगार्ने हतारोमा मेरो खवर राख्न सकिनौ हौली । तर पनि मेरो गुनासो छैन । तिमीसँग गुनासो पोख्ने अधिकार मसँग निहित पनि त छैन । 
इम्पी माफी चाहेँ म त सन्दर्भ भन्दा फरक बिषय बस्तुमा पो घोतलिनु थालेछु । पाउनु र गुमाउनुको घाम पानीले मज्जाले सेकेको यो ज्यानसँग तिमीलाई दिनका लागि कुनै मूल्यवान जुहारात नभएता पनि हिजो मैले तिमीलाई र तिम्ले मलाई माया गर्दै जिन्दगीका थोरै मोडहरु किन नहोस् ती मोडहरुमा प्रेमिल सह–यात्राका लागि सामेल हुँदाको अधिकार आफैमा निहित राख्दै तिम्रो नयाँ स्वर्णिम संसारमा सदैव गुराँसे बसन्त छाई रहोस् भन्दै तिम्रो जिवनका बाँकी यात्रा आरामदायी, सुखद तथा उर्वर बन्दै सफल रहोस् भन्ने शुभेच्छा दिन चाहन्छु ।
अन्त्यमा मसँगको सह–यात्रामा जान अन्जानमा मबाट कुनै भूल हुन गएको भए त्यसका लागि पनि माफी चाहेँ । बस आजलाई यतिनै ।

चाहेर पनि तिम्रो हुन नसकेको उहि तिम्रो हिजोको काले ।

कान्तिपुर गल्फ साप्ताहिकको १६ जनवरी २०१४ अंकमा प्रकाशित । 

0 comments

Post a Comment