गजल

प्रेमील दिल-ले एउटी चुन्यो हजारौ टोलीमा,
परी भन्दा'नि सुन्दर देखें  चौबन्दी चोलीमा ।

मेरो खोजकी राजकुमारी यही होलिन् भन्दै,
लोभी मन-ले लै'जा भन्यो सजाएर डोलीमा ।

सारा संसार भूलिदिन्थे त्यही आवाज सुन्दा,
सायद जादु थियो क्यारे मधुर त्यो बोलीमा ।

कस्ता कस्ता मै हुँ भन्ने ढल्थे आँखा जुध्दा,
उन्को हेराई जति शक्ति थिएन'की गोलीमा ।

आखिरीमा मलाईपनि कसम ढाली छाडिन्,
बसाई सरिन् सपना बगाई खहरे खोलीमा ।।

0 comments

Post a Comment