उमसलालको यात्रा
दोहामा केहिदिन यता चलेको हावाको कारणले जेद्धा पार्कबाट हामी बिस्थापित हुन वाध्य भयौ । दोहाको जेद्धा पार्क धेरै दोहावासी श्रमजीवि नेपालीहरुको प्यारो स्थान हो । जहाँ धेरै नेपाली तथा नेपाली संघ संस्थाहरुको अस्थाई सम्पर्क कार्यालय रहेको कुरालाई नकार्न न्यायोचित नहोला । हरेक शुक्रबार यहाँ के गर्मी के जाडो नेपालीहरुको बाक्लो उपस्थिती देख्न सकिन्थ्यो । तर हिजो आज जेद्धा एक्लिएको छ । यहाँ पहिलेको तुलनामा नेपालीहरुको उपस्थिती पातलिएको छ । कारण हुन सक्छ त्यहि हावा या त दोहाको वैशालु यो गर्मी ।
प्रायः धेरै नेपालीहरुले हरेक शुक्रवार श्रम शिविरबाट नियमित छुट्टि पाउँछन् । धेरै नेपालीहरु प्रवासमै भएता पनि विभिन्न सामाजिक संघ संस्था देखि वैचारीक संघ सस्थाहरुमा आवद्ध छन् । आफ्नो संघ संस्थाको हितार्थ काम कार्वाहीका लागि विगत देखि निर्बाद रुपमा जेद्धा पार्कलाई स्वघोषित मिलन केन्द्र बनाउँदै आएका थिए । हालको समय अलिक सान्र्दभिक नहुनुले त्यसको बिकल्प हामीले पनि सोच्यौ सायद अरुले पनि । हरेक महिनाको तेश्रो शुक्रवार हो सुसेस कतारको संस्थागत भलाकुसारी गर्ने दिन । गएको शुक्रवार अनेसास–नवोदितको पनि नियमित वाचन श्रृखला प¥यो । वाचन श्रृखलामा पनि म र गजलकार राजु भाईले हाजिरा दिनु पर्ने भएकोले सुसेसको छलफल गर्ने समय सार्नु पर्ने भयो । हामीले सो समय सा¥यौ पनि ।
सुसेस कतारका मित्रहरुको सल्लाह बमोजिम यो पल्टको छलफल दोहा शहर देखि अलि परको बस्ति उमसलालमा बिहिवार राती बिताउनु पर्ने थियो । उमसलाल गाँउ सुसेस कतारका महासचिवको श्रम शिविर हो । त्यहि रात बिताएर अनेसास–नवोदितको वाचन श्रृखलामा हाजिरा लगाउन आउने हाम्ले मेलो मेसो मिलाए बमोजिम बिहिवारको काम मैजारो पछि त्यहाँ हानिनु पर्ने थियो । त्यो दिन मैले साँझ सात बजे कामबाट हात धुन सफल भएँ । रुम पुगेर उताको यात्राको तयारीमा जुटे । यताउती गर्दा गर्दै अलफरदान बस पार्क पुग्दा घडिले ९ः३० ओकली सकेछ । बाटोतिर हुँदानै मेरो मोवाईले दुई पटक राजु भाईको कहाँ आईपुग्नु भयो भन्ने सोधाईको भारी बोकि सकेको थियो । म कार्वा बसबाट ओर्लने तयारीमा जुटी रहँदा फेरी राजु भाईको त्यही प्रश्न बोकेर आयो मोवाईल । यो पल्ट मैले उहाँहरु बसेको स्थानको जानकारी लिएँ बसबाट उत्रे पछि त्यतै हानिएँ । त्यहाँ मेरो पर्खाईमा थिए किशोर सुनुवार, सोम सुनुवार र राजु सुनुवार । त्यो अपरिचीत स्थान अनि रातको यात्रा कता कता मनमा उत्साहसँगै अलपत्र पर्ने डरले राम्रो डेरा जमाएको थियो । नजमाओस् पनि कसरी केही हप्ता अगाडी सन्ध्या ग्रुप अलखोरको निमन्त्रणा मान्न राती जाँदा, रेगिस्थानी कवि तीर्थ संगम राई, गीत, गजलकार तथा बाँङ्गोकार मित्र चर्चित ढुङ्गेल चढु र कवि तथा समालोचक मित्र विक्रम पालुङ्गा अलखोरमा राम्रैसँग राती घुम्नु परेको यथार्थ नजिकै थियो ।
हामीले त्यो रातको अन्तिम कार्वा बस समात्यौ । अनि शुरु भयो हाम्रो उताको यात्रा । बसमा राम्रै भीड थियो । तीस मिनेटको यात्रा पार गरे पछि बसबाट क्रमश मान्छेहरु पात्लिन थाले । हामीले उमसलालको २० नम्वर बृजमा ओर्लिनु पर्ने थियो । यो कहाँ पर्छ हामी चार भाई मध्ये कसैलाई पनि थाहा थिएन । बस चालकले त्यो ठाउँमा हाम्लाई ओराल्न भुलेको खण्डमा हामी त्यो गाँउ घुम्नु पर्ने पक्का थियो । एक घन्टाको बस यात्रा पुगेपछि सोम जीलाई बस चालक नजिक पठायौ हामी ओर्लने ठाउँ बारे जानकारी लिन । केही बेरमा बृज मुनि बस रोकियो । हामी बाहिर निस्क्यिौ । सुनसान त्यो ठाउँ बारी पारी गाडीहरु मात्र तिब्र गतिमा हुईँकिदै थिए । लाग्थ्यो गाडीहरु आफ्नो गन्तव्य स्थानमा पुुग्न सारो हतारो गर्दैछन् । हामी एउटा रोड काटेर बृज माथि उक्लनु पर्ने थियो । बिस्तारै बृज काटेर माथि उक्लियौ । बृजमाथि हामीलाई लिन विबश बस्ति आई सक्नु भएको रहेछ । हामी सबै गाडीमा बस्यो विबश जीले गाडीलाई हुईँक्याए । करिव दश मिनेट पछि उहाँले हामीलाई ठूलो ढोका भएको कम्पाउण्ड भित्र गाडीसँगै ढुकाउनु भयो । बल्ल आयो महासचिवको निवास स्थान तथा श्रम शिविर । तीन कोठे त्यो भवनमा महासचिव र भारत पन्जाव घर भएका एक मित्र बस्नु हुँदो रहेछ ।
हामी त्यहाँ पुगेको तीस मिनेट पछि सुसेस कतारका अध्यक्ष राम सुनुवार र सल्लाहकार पुरुषोतम सुनुवार पनि त्यहाँ आई पुग्नु भयो । रात छिप्पिएकोले पहिले पेट पुजा अनि मात्र भलाकुसारीको कार्यक्रम तय भयो । महासचिवले हाम्रो लागि पर्याप्त मात्रामा खानाको जुगार लगाउनु भएको रहेछ । हामीले गर्नु पर्ने सबै कर्महरु गरि सक्दा रातको दुई बजि सकेको थियो । मैले महासचिवकै बिस्तरालाई आफ्नो बनाएँ । अध्यक्षले भारतिय मित्रको बिस्तरालाई अन्य बाँकी मित्रहरुले भूँईमा आफ्नो अड्डा जमाए ।
हाम्रो आँखा खुल्दा घडीले बिहानको आठलाई पचाई सकेको रहेछ । हामी सबै उठ्यौ । जलपान कार्यक्रम पश्चात त्यहाँको घाँसे मैदान घुम्न गयौ । केहि बेरको आराम पछि हामी फेरी पौडि खेल्न गयौ । त्यहाँबाट फर्केर पेट पुजा पश्चात फिर्ति सवारीको तयारीमा जुट्यौ । महासचिवले हामीलाई बृजसम्म गाडीमा छाड्न आउनु भयो । बृजमुनि गाडी कुरेको १५ मिनेट पछि एउटा गाडी आयो त्यो भाडाको गाडी त थिएन तर हामीलाई ३० रियालमा दोहा छाड्ने कुरा ग¥यो । म अलिक मोटोे भएकोले मलाई सबैले अगाडीको सिटमा बस्न लगाए । जब गाडी गुड्यो अनि साथीहरुले मलाई उहि चढु जीको सस्मरण याद गराए । अगाडीको सिटमा बस्नेले आजको भाडा अर्थात कतारी तीस रियाल गोजिबाट झिक्छ भनेर । म अनेसास–नवोदितको वाचन श्रृखलाको मेला भर्ने हतारोमा थिएँ । त्यो अभेगमा समयमै गाडी मिल्नु हाम्रो शौभाग्य थियो । अनेसास–नवोदितका वाचन श्रृखलामा समयमै हाजिरा दिन पाउने खुशीलाई संगाल्दै गाडी रफतारसँगै हाम्रो फिर्ती सवारी हुँईकियो ।
0 comments