तीन मुक्तक

लोभ बोकेर जब तन मन बटारिन्छ,
गलतको पछि तब पाईला हतारिन्छ ।
होस् राखे मनुवा यात्रा थाल्नु अगावै,
गलत गलतनै हुन्छ र त पछारिन्छ ।।

घातै घातको साम्राज्यमा पेलिएको जीवन,
एउटै त्यान्द्रो आशामाथि जेलिएको जीवन ।
गन्तव्यको पत्तो छैन कहाँ पुग्ने कसो गर्ने,
मृग तृष्णा किनार बनार्ई हेलिएको जीवन ।।

यो जिन्दगी स्वर्णिम छ सजाउन जान्नु पर्छ,
मन्त्र मुग्ध झंकार दिन्छ बजाउन जान्नु पर्छ ।
फूलको नजर हेर्यो भने फूल्छ सधैं खुशी यहाँ,
आफैले पो आफ्नो नयन कजाउन जान्नु पर्छ ।।

0 comments

Post a Comment