म हारिदिन्छु

यो संसार मायाँ र विश्वासमा अडिएको छ । सायद त्यसैले होला मलाईपनि मायाँ र विश्वासको बारेमा सोचिरहन मन लाग्छ । एकै शब्द्धमा भन्नु पर्दा म चोखो मायाँको प्यासी छु । जिन्दगीका कयौ घुम्तिहरु चोखो मायाँको खोजिमा काटे । मैले हिजो पार गरेका हरेक घुम्तिहरु मेरा जिवनमा घातक सिद्ध भए । मैले पार गरेका घुम्तिहरु मेरो मन मस्तिष्कमा नाच्दा म नराम्रोसँग दुख्ने गर्छु । नदुख्नुपनि कसरी मेरो हिजोले मलाई चोट सिवाए अरु के नै दियो र हो म पलपल दुखेकोछु । घाउ बिनाको चोटमा । मैले जसरी बिना घाउको चोटमा कोही कसैलेपनि दुख्न नपरोस् म त हरदम यहि कामना गर्छु । बिना घाउको चोटले गलाउँदा साँच्चिकै जिन्दगी कति बोझिलो हुँदो रहेछ ।
कसैलाई चोखो मायाँ गर्नु अनि कसैबाट चोखो मायाँको आशा राख्नु पाप होईन । मैलेपनि यात्राभरि तिमीलाई मनदेखिनै चोखो मायाँ गरे । तिमीबाट पनि चोखो मायाँको आशा राखे । थाहा छ मलाई मायाँ करले हुदैन बलले हुदैन । मायाँ त आफै हुन्छ । आफै भएको मायाँ दिगान्त होस् भन्ने मेरो मान्यता हो । नाता तोड्नेले नाता नजोडेकै बेश हो । बचन पुरा गर्न नसक्नेले बचन नदिएकै बेश हो । हामी मध्ये कोही कसैलाई पनि अधिकार छैन कसैको भावनासँग खेल्ने । तर तिमीले मेरो भावनासँग खेल्न खेल्यौ ।
स्वार्थी मनको आडम्बरी बस्तिमा चोखो मायाँको आशा गर्नु भनेको त आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु रहेछ । मबाट पनि त्यहि गल्ति भयो । खै कसरी भूल्यौ हामी त केवल दुईदिनको पाहुना हौ भन्ने क्ररा । मर्दा लाने केहिपनि छैन । हामी अजम्वरी हुने पनि होईन । तर तिमी किन यति सारो जालझेलको खेती लगाउन ब्यस्त भयौ । आफ्नो गोरुको बाह्रै टक्का भन्ने घमण्ड किन गर्छौ । यस्तो घमण्ड कहिले पनि दिर्घायू हुने छैन । घमण्डको अन्त्य पराजयमा पुगेर हुन्छ भन्ने सत्यताबाट किन बेखवर छौ ।
म स्विकार्छु तिमीले जस्तो मैले पत्थरको मुटू बनाउन सकिन । मैले आफ्नो यात्रा पर्दामा राख्न चाहिन । निरन्तर मायाँ गरे विश्वास गरे । बैशले मात्तिएर रुपको फगत घमण्डमा फूलेको बेला मेरो चोखो र निश्वार्थ मायाँ सस्तो देख्यौ । तिमी प्रतिको मायाँ र समर्पणलाई मेरो कजोरी मान्यौ । विवशताको फाईदा उठाएर मेरो भावनामाथि खेल्नसम्म खेल्यौ । तिम्रो धारिला बचनभित्र पनि मायाँ खोजि रहनु मेरो रहर होईन वाध्यता हो । यो सब तिमीले अहिले बुझ्दैनौ । तिमीसँग बैश छ कामातुर मनहरुले वाह वाह गर्ने रुप छ । तर रुपको भरमा संसार चल्दैन । घरमा साँझ बिहान चुलो जल्दैन । तिमी भ्रममा बाँचिरहेकी छौ । यहाँ रुपको पूजा हुँदैन ।
तिमीलाई मेरो मुटू झिकेर दिएपनि तिम्रो लागि त्यो कम हुन्छ । म भएर तिमीले कहिले पनि सोच्न सकेनौ र सोच्ने कोशिस पनि गरेनौ । यो सोच्नलाई आज तिमीसँग पलभरको समय छैन । तर भोलिका दिनहरुमा पछुताउनका लागि तिमीसँग पर्याप्त समय हुनेछ । मैले तिम्रोलागि के दिए तिमीले बदलामा मलाई के दिदैछौ त्यसको लेखा जोखा ईश्वरको घरमा हुँदैछ । मलाई र समाजलाई पर्दामा राख्न सफल भएता पनि ईश्वरको आँखामा पर्दा हाल्न कदापी सक्दैनौ । मेरो विवश्तामा तिमी हाँसि रहेकी छौ । आज तिम्रो हातमा समय छ सक्दो हाँस्नु । तिम्रो घातले छिया छिया भएको यो मुटू अझै छिया छिया पार । बचनका धारिला अस्त्र प्रहार गरेर । यो सब मैले स्विकार्नु सिवाए मसँग अर्को विकल्प छैन त्यसैले म सहिदिन्छु ।
सक्छौ भने एक पल्ट हाम्रो हिजोमा फर्केर हेर । तिमीलाई मैले कस्तो मोडमा स्विकारेको थिए । मैले स्विकार्ने बेला तिमी कस्तो थियौ । मेरो सहारा पाए पछि कस्तो भयौ । तिमी आज तिमी भएकी छौ यो सब मेरो तिमी प्रतिको सर्मपण विश्वास र मायाँकै कारण भएकी छौ । तिमी स्विकार या नस्विकार सत्य यहि हो । तिमीले मेरा गुण नदेखे पनि स्वयम्भूका दुईटा आँखाले देखेको छ । तिमी बस्ने समाजले तिमीमा आएको परिवर्तन देखेकोछ । मलाई यति भए पुग्छ । म सफल भएको ठान्छु आफूलाई । तिमीमाथि कुनै अपराध नगरी मैले मेरो कर्तव्य निभाएकै हो । तिम्रो रहरले बाटो मोड्नु मलाई तिम्रो योग्य नदेख्नु मेरो कसुर होईन । तिमी मेरै कसुर हो भन्छौ भने आत्मा साक्षी राखेर भन म कहाँ चुके । मेरो के कसुर छ ।
तिमी आफै हो समयको गतिसँगै आफूलाई बदल्ने । हामी बिचको दुरी तिमीले नै बढायौ । यो सब गर्नु पर्ने जरुरत कहाँ थियो । तिम्रो हरेक चाहानाहरु पुरा गर्न मैले कुनै कसुर बाँकी राखिन । आफ्नो खुशीको बलि चढाएर तिम्रो खुशी पुरा गरेकै हो । तिमीले अभावको बाटो हिड्नु हुन्न । तिमीलाई सदा खुशी राख्नु पर्छ भन्ने मेरो मान्यता गलत होईन । तिम्रो खुशीमा जीवन खोज्ने मेरो मन कदापी गलत छैन । हाम्रो सुन्दर संसारमा आँधी तुफान बनेर तिमी आयौ । तिमी सतप्रतिशत गलत छौ । आफ्नै घरमा आगो सल्काएर हाँस्यौ । तर भोली तिमीले रुनु पर्नेछ । तिम्रो घमण्डले जलाएको हाम्रो घरको भग्नावशेष माथि तिम्रा आँसुका दाना तप्किनेछ । तिमीले खियाउँदै गरेको घमण्डको नाउँले तिमीलाई आँसुको सागरमा डुबाउने निश्चित छ । त्यसैले म डराउछु तिम्रो भोलि सम्झेर ।
हिजोलाई चटक्कै भूलेर आजमा रमाउन चाहाने तिम्रो मनलाई मैले सहि बाटोमा ल्याउन सकिन । दुःख लाग्छ मेरो आज भन्दापनि तिम्रो भोलि सम्झेर । तिमीलाई यथार्थ तितो लाग्छ उपदेशले बिजाउछ । यथार्थ र उपदेश पचाउन नसक्ने मान्छे कहिल्यै सहि बाटोमा हिड्न सक्दैन । त्यस्ता मान्छेहरुको यात्रा हरेक मोडमा जोखिम पूर्ण हुनेछ । तिम्रो यात्रा जोखिम पूर्ण होस् भन्ने मेरो चाहाना होईन । चाहाना नभएपनि मैले यथार्थबाट भाग्न मिल्दैन त्यसैले सत्य कुरा ओकलेको मात्र हो । मलाई जसरी बुझेपनि हुन्छ । तिम्रो दैनिकीमा मेरो केहि अस्तित्व छैन । तिम्रो घमण्डले तिम्रो जीवन बर्बाद हुन्छ हुन्छ यस्मा कुनै शंका छैन । आफ्नो जीवनसँगै थप निर्दोष दुई प्राणको जीवन बर्बाद पार् यौ । यो अपराधको सजायाँ तिमीले भोग्नु पर्नेछ । तिम्रो अपराध ईश्वरको अदालतमा दर्ता भएर बिचाराधीन रहेकोछ । तिमीले बिना कसुर मलाई तिरस्कार गरेपनि म त यहि कामना गरि रहन्छु तिम्रो पाईलाले शिखर चुमोस । किनकि तिमीलाई नराम्रो देख्ने मेरो कुनै नजर छैन । त्यसैले म हारिदिन्छु तिमीनै जीत हरपल तिम्रै विजय होस् ।

0 comments

Post a Comment