उडायो सपना सबै हुरीले …॥

'के सोचे'थे जिन्दगीमा के के भयो आज' ! आफ्नै जिन्दगीका भोगाईसँग सपनाहरु नमिल्दा म भित्रको मान्छे रोएको छ । विना घाउका चोटहरुले मेरो मुटूलाई दुखाउदै छ ! सायद मेरो भाग्यमा दुख्नै लेखेको होला भनेर भड्किने मनलाई थमथम्याउन विवशछु । दुई दिनको त जिन्दगी हो जीउनु पर्छ भन्ने लोभले मनमा डेरा जमाएपछि दुखेरपनि जीउनु पर्ने रहेछ । जीवनका भोगाईले पूर्व, सपनाहरुले पश्चिमको यात्रा तय गरेपछि मनमा सधै अशान्तिले निर्वाध राजगर्न पाँउदो रहेछ । हरेक मान्छेले आ-आफ्नै तौर तरिकाले सपना देख्न पाउछ तर सबैको सपना पुरा हुदैन !मेरोपनि पुरा भएन । पुरा गर्नै नसक्ने महत्वाकांक्षी सपना भने मैले पक्कै देखेको होईन म सारा देव छोएर भन्छु । मैले देखेका सपनाहरु सरल अनि सहज थिए तर त्यो पुरा हुन सकेन किन ।
'साधा जीवन उच्च विचार' हुनुपर्छ भन्ने मान्यता राख्थे म ! एक पाईला हिडेपनि आफ्नै माटोमा हिडु भन्थे । बनावटी र तडकभडक दुनियाँबाट म आफूलाई टाढै राख्न रुचाउथे । वास्तवमा घाँटी हेरेर मात्र हड्डि निल्न खोज्नु पक्कै मेरो मूर्खता होईन । समयको गतिसँगै मैलेपनि नचाहेरै आफ्नो देशबाट बाहिरीनु पर्ने भयो । हो म स्वार्थी भएकै हो त्यो पल किनकी मेरो सुन्दर भोलिको लागि आफ्नै जन्मभूमीबाट टाढा जादै थिए । आफ्नो काँधमा जिम्मेवारी आएपछि मैलेपनि मेरो विचार बदल्नै पर्ने भयो । समयको माग अनुसार मैले आफूलाई ढाल्न सक्नुमा मेरो भलाई देखे । 'आँखा लोभी मन पापी' रे ! म पनि त्यो पल लोभी भएकै हो । आखिर जहाँ रहेपनि यो मन त नेपाली हो भन्ने सोचेर मपनि परदेशतिर हानिए । म परदेश लाग्ने बेला मैले सोचेको थिए ! केही पैसा कमाउला अनि आफ्नै देशमा घरपरिवारका दुःख सुखमा हातेमालो गर्दै बसौला । टोल समाजमा असल छिमेकी, घरमा असल छोरा,पति अनि पिता साथै देशको असल नागरिक बनेर आफ्नै माटोका पाखा पखेरासँग मितेरी लगाउदै स्वाभिमानी जिन्दगी बिताउला । धरोधर्म यहि थिए मेरो सपना मैले देश छाड्ने बेला ।
शुरुका दिनहरुमा प्रवास मेरोलागि कष्टकर बन्यो आफन्तबाट एक्कासी छुटेर फरक माटो फरक वातावरण फरक बस्ति अनि फरक मान्छे र भाषाविचमा आफूलाई ढाल्न प्राय जो कोहिलाई मुस्किलै पर्छ । समयको गतिसँगै क्रमशः मैलेपनि आफूलाई प्रवासको हावा पानीसँग मिलाउदै लगे ! त्यसपछिका दिनहरु सहज बन्दै गयो । कम्पनिले दिएको जिम्मेवारी पुरा गर्न सकेकै कारण समय समयमा मेरो पारिश्रमीक थपिदै जान थाल्यो । म खुशीनै थिए आफ्नो कमाई र काम देखि सबै भन्दा ठूलो कुरा त मैले आफ्नै कमाईमा मेरो परिवारलाई नयाँ जीवन दिन सकेको थिए । यसै कारणपनि मैले आफूप्रति गौरवगर्नु स्वभाविकै थियो ।
विगतका ती दिनहरुमा मलाई लाग्थ्यो म एउटा असल छोरा पति र पिता बन्न सफल भएकोछु अब केहि साल पश्चात असल छिमेकी र नागारिकपनि बन्नेछु । यो सब मैलेमात्र सोचेको रहेछु मेरो कमाईमा आश्रित मेरी सहयात्रीले त्यस्तो केहि सोचेकी रहेन छिन् । म त केवल कमाएर दिने एउटा भाँडो मात्र पो भएको रहेछु । मैले कमाए पठाए उता जरुरत पुरा भयो बस सकियो । मप्रति उनीले देखाएको मायाँ मायाँ थिएन त्यो त केवल मलाई लुट्नका लागि प्रयोग भएका अस्त्र पो रहेछ । 'बगलीमा छुरा बोकेर मुखले राम राम' भन्ने उनको असली रुप मलाई थाहा थिएन । आफ्नो प्राण भन्दापनि प्यारो लाग्ने मान्छेमाथि शंका रोप्नु मैले उचित ठानिन  त्यसैले विगतमा मैले मेरा हरेक पलहरु उस्कै खुशीका लागि खर्चिए । सत्यमाथि धेरै समय पर्दा हाल्न सकिन्न सुन्थे सहि रहेछ । उस्को कु-नियतमाथि शंका नगर्ने म सोझोमाथि अन्याए भएको भगवानलाई सह्य भएन क्यारे उहाँले उस्को असली रुप मेरो आँखा अगाडि विस्कुन लगाई दिनु भयो । उस्को काला कतुरको विस्कुन लागेको बेला यो मनलाई काबुमा राख्नै सकिन अनायसै मेरो आँखामा साउने भेल उर्लन थाले । मैले यो सत्य जानेको पल म धेरै दुखे  सायद त्यहि दुखाई मेरो जीवनका सबै भन्दा ठूलो पहिलो र अन्तिम दुखाई हो । म भगवानसँग प्रार्थना गर्छु त्यहि नै अन्तिम होस् ।
कसैको त मन मुटूपनि कस्तो हुन्छ खै म सधै हैरान हुन्छु यहि कुरा सम्झेर । हरेक दुःख सुखमा साथ दिएकै थिए केहि गर्छु भन्दा मैले सहयोग गरेकै थिए । म कहिलेपनि उस्को खुशीका वाधक बनेको थिएन उस्ले ईच्छाएका हरेक जाहेज कुरामा मेरो पूर्ण समर्थन थियो । एउटा बन्धन मुक्त र यश आरामको जिन्दगी दिएकै हो । मेरो मायाँमा कमि होला कि भनेर म हरेक पल उस्लाई सदा खुशी राख्न लागिरहे । हो म उस्लाई मायाँ र विश्वास गर्थे आफैलाई भन्दा बढि । उस्ले अभावको जिन्दगी गुजार्न नपरोस उस्लाई कसरी खुशी राख्न सक्छु भन्ने बारे सोचि रहन्थे । उस्को खुशीनै मेरो खुशी हो लाग्थ्यो ! हरेक पल मैले उस्कै खुशीको लागि खर्चिए । उस्लाई खुशी दिनु मेरो कर्तव्य हो खुशी राख्नु मेरो शौभाग्य हो म यहि सोच्थे यसैका खातिर म परिश्रम गरिरहन्थे । आखिर मेरो के भूल थियो उस्ले मलाई सधै पर्दामा राख्न चाहिन् । उ प्रतिको मेरो विश्वासलाई किन टुट्न दिईन् । मैले मायाँ गर्दा गर्दै साथ दिदा दिदै उस्ले किन यस्तो गरिन आखिर यो सब के का लागि गरिन् यस्तै प्रश्न हरुले मेरो मन मस्तिष्कमा बारम्वार महाभारत मच्चाई रहन्छ ।
झुपडीनै होस् तर त्यो भित्र अभाव नहोस् । होस् त केवल मीठो मायाँ न्यानो साथ अनि मजबुत विश्वास । सहयात्रीविच मायाँ साथ र विश्वास भएन भने महलमै बसेपनि त्यो महलमा शान्ति सम्भव छैन । यदि झुपडीभित्र मायाँ साथ र विश्वास छ भने त्यो घरमा नत अभावले राज गर्न सक्छ नत अशान्तिले । मायाँ साथ र विश्वासले बनेको घरलाई नत सुनामीले बगाउन सक्छ नत भुँईचालोले भत्काउन सक्छ नत आँधी हुरीले उडाउन सक्छ । मायाँ साथ र विश्वास भयो भने मात्र घर घर हुन्छ ! घर घर भयो भने मात्र जिन्दगीका हरेक मोडमा सफलतानै सफलता हुन्छ । हो मलाई त यस्तै लाग्छ त्यसैले त मैले उस्लाई मायाँ दिए साथ दिए विश्वास गरे । तर जिन्दगीको यो मोडमा आफ्नैबाट तिरस्कृत बनेको पल मलाई लाग्यो हिजोका ती दिनहरुमा सायद म एउटा हातले तालि बजाउन व्यस्त थिए । मलाई कसैले मायाँ गर्छ साथ दिएको छ विश्वास गरेको छ भन्ने मात्र मेरो भ्रम थियो । मेरो कस्तो दुर्भाग्य 'यो मनले ताक्यो मुडो बन्चरोले ताक्यो घुडो'। मेरो हराभरा घर संसारमा कुन पापीको आँखा लाग्यो त्यसै कारण आज मेरो हिजोका ती सुन्दर हराभरा घर संसार उजाड मरुभूमीमा परिणत भयो । म असफल भए मेरो घरलाई आँधी तूफानबाट बचाउन । 'उडायो सपना सबै हुरीले …॥'

0 comments

Post a Comment