ठुले तिमी लुटिदैछौ

विरानो यो पराया बस्तिमा
दिने दानी कोही छैनन्
उल्टै तिमीलाई लुट्दै छन्
हो ठुले तिमी लुटिदैछौ ।
सपनाको विस्कुन लगाउदै
इमान्दारी र बहादुरी देखाउ
तिमीलाई सम्मान गर्ने मनहरु
यो मरुभुमी बस्तिमा छैन ।
भलै तिम्रो श्रमले यहाँ
गगन चुम्बी महल उभिएला
तिम्रो पसिनाले यो मरुभुमी
उर्वरभुमी बनेर रमाउला
फेरी पनि ठुले
तिम्रो श्रम र पसिनाको
उचित सम्मान हुने छैन ।
त्यसैले म भन्छु ठुले
आफ्नो मनलाई चिमोट
निदाएको ठुलेलाई उठाउ

अनि विचार गर
तिम्रो भोलि मरुभुमीमा छैन
तिम्रो भोलि त
तिमी जन्मी हुर्की बढेको
तिम्रो आफ्नै माटोमा छ ।
एउटा ईट थपेपिन
एक पाईला हिडेपिन
एक थोपा पसिना चुहाएपिन
त्यो तिम्रो माटोले पाउनेछ
तिमीले गर्व गर्न पाउनेछौ
तिम्रो सम्मान माटोले गर्नेछ ।
त्यसैले त म भन्छु ठुले
भोलिको खोजीमा रहेको
तिम्रो मॄगतृणालाई
पूर्ण विराम लगाउदै
कुम्लो कुटिलो कस
कालजयी संकल्प गर
अब तिम्रो हात
आफ्नै माटोमा सल्बलाउनु पर्छ
हो ठुले
तिम्रो माटोलाई
तिम्रो जस्तै
इमान्दारी र बहादुरी
हात चाहिएको छ ।

रचनाकाल ११ अगस्त २०१०
दोहा कतार ।

0 comments

Post a Comment