लामो त्यो रात

सायद मेरो जिन्दगीकै पहिलो र अन्तिम लामो रात हुनुपर्छ । बितेका रातहरु यस्तो भएर आएको मलाई हेक्का छैन । उता पल्लो बेडमा साथी मस्त निदाएको छ । म भने लाखौ कोशिष गर्दा पनि निदाउन सकिरहेको छैन । यता पल्टिन्छु उता पल्टिन्छु तर बन्दै निन्द्रा परेन । निन्द्राकि देवीलाई फकाउने मेरा हरेक प्रयास विफल भए । निन्द्रा नपरे पछि म विहानीको पर्खाईमा रहन थाले । अब त उज्यालो हुने समय भयो होला भन्दै नाडीको घडितिर हतार हतार अनिदा आँखाहरु हुत्याउँथे । घडिले तेरो डियुटी जाने समय भएको छैन भन्दा फेरि निरास मन बोकेर कोल्टे फेर्र्न विवश हुन्थे । मैले घडि हेर्ने र घडिले समय भएको छैन भन्ने क्रम निरन्तर चलि रह्यो । गन्ती गरेको भए सायद सय भन्दा माथिको हाराहारीमा पुग्थ्यो होला त्यो क्रम ।

मेरो साथीलाई केहि दिन यता श्वास प्रश्वासको समस्या भएकोले कोठाको बत्ति बालेरै छाड्ने गरेकाछौ । कोठामा बत्तिका प्रकाशहरु उज्यालो दिनका लागि मस्त नाचिरेका छन् । त्यो उज्यालो मलाई उज्यालो हो लाग्दैन । चारैतिर म अध्यारो देख्छु । मुटूको गति एकदम बढेको अनुभव गरिरहेको छु । बेला बेलामा लाग्छ कतै मेरो मिती पुग्न लागेको त होईन ? खाडीमा राती सुत्ने बेला धेरै मान्छेहरु कहिले पनि नफर्कने यात्राका लागि निक्लने गरेको तितो यथार्थको मलाई राम्रो ख्याल छ । विशेष त यो गर्मिको समयमा धेरैले त्यो यात्राका लागि निक्लनु परेको छ । जिन्दगीका हजारौ सपनालाई थाँती राखेर मेरै कम्पनिका चार जनाले त्यो यात्राका लागि निक्लिएको मेरै आँखाले देखेको छु । मन भरि नानाथरीका कुराहरुले परेड खेल्न थाल्नु–ले पनि म निदाउन नसकेको होला भन्दै मनलाई थम्थम्याउछु । मन माने त मारिदिनु । यो अघोरी मन कहाँ भन्दा मान्छ ।
म सोच्छु ! मान्छेसँग यो मन नहुँदो हो त सायद मान्छेको जिन्दगी कत्ति सुन्दर हुने थियो होला । जे गर्छ यहि पापी मनले त गर्छ मान्छेलाई । यो दुनियामा जति पनि उथल पुथल भएकाछन् त्यो सबै मान्छेका मनकै कारण भएकाछन् । मसँग पनि मन नहुँदो हो त राती मस्त निदाउन सक्थे होला । मलाई राती निन्द्रा नपर्नुको पछाडी यहि पापी मनको ठूलो हात छ । कसम होला यहि पापी मनले मेरो र निन्द्राको नियमीत भेटमा भाँजो हालेको हो । मस्त निदाउने अगाध चाहना हुँदाहुदै पनि निदाउन नसक्दा मनसँग मलाई कम्ता त रिस उठेन । अझै पनि मनसँग घम्सा घम्सी पर्दैछ । मिल्ने भए म यो मनको जरै उखेलेर फ्याँक्ने थिए ।
मन पनि मान्छे अनुसारको फरक फरक हुन्छ क्यारे । मैले देखि÷भोगि रहेछु फरक मान्छेको फरक मन । मान्छे समग्रमा काँचो माटो हो अनि मन कुम्हाले । जसरी कुम्हालेको परिश्रमबाट काँचो माटोले एउटा बस्तुको आकृती पाउँछ त्यस्तै मनको परिश्रमले मान्छेलाई फरक मनले फरक मान्छेको व्यबहार बनाउँछ । कति मान्छेलाई मनले दयावान बनाउँछ । कति मान्छेलाई पौरखी बनाउँछ । कति मान्छेलाई जाली फटाहा बनाउँछ । यो संसारमा जति पनि मान्छेका रुपछन् त्यो सब मनले बनाएको रुप हो । फरक मनले उत्पादन गरेको फरक मान्छेहरुको क्रिडा स्थल यो धरती साँच्चिकै दानव बस्ति सरह बन्न पुगेको छ । मान्छेको मनले दया मायाको खेती गर्न नसक्नु–ले हिजोको सुन्दर धरती आज सम्म आई पुग्दा आफू चेतनशील प्राणी मान्छे पो हुँ भनेर घमण्ड गर्ने सानो ठाँउ पनि बचेको छैन । मान्छेको मनहरु जिन्दगी जिउने बहानामा पाईलै पिच्छे पाप गर्नमा अग्रसर भएकाछन् । यथास्थिती रहिरहने हो भने अब छिट्टै यो धरतीको अन्त्य सुनिश्चित छ ।
आधुनिक दुनियाँको आधुनिक मान्छेहरुको चर्तिकलाबाट म बेला बेलामा हैरान हुन्छु । मैले चाहेर पनि मेरो कल्पनाको दुनियाँ निर्माण गर्न कहाँ सक्छु र ? यी सब मनलाई बहकाउने÷भड्काउने सोचाई मात्र हुन् । असल दुनियाँ निर्माण गर्ने पहिलो जग घर हो । मैले मेरै घर मेरो कल्पनाको जस्तै घर बनाउन सकिन । समाज र दुनियाँ त धेरै टाढाको कुरा हो । असल घरहरुले असल समाज बनाउँनछ अनि असल समाजले असल देश । असल देशहरुले मात्र असल दुनियाँ बनाउँछ । यस्तै यस्तै म भन्दा धेरै ठूला कुराहरुलाई मनभरि कोतपर्व गराउन लगाउँदा लगाउँदै विहानको ४ः३० बजेको सुईको पाँए । निन्द्राकि देवीसँगको नियमित भेटमा बाधा पु¥याउने मेरो मनलाई र हाम्रो क्रिडा स्थल बेडलाई छाडेर उठे । विहानीको नित्य कर्म सकेर अनिदो भारी शरिर लिएर म ५ बजे मेरो अफिसमा नुनको सोझो गर्न पुगे ।

0 comments

Post a Comment