गजल

लाला बाला परदेशमा, हाम्रो देश दुख्यो अरे,
सन्तानको पीरसुर्ताले, मेचीकाली सुक्यो अरे ।

बलियाकै चल्छ हैकम, भने हिजो ठुला बाले,
जता ततै काटामारछ, बुद्ध वाणी चुक्यो अरे ।

छिमेकीले देखी निम्छर, बुद्ध हाम्रो भन्न थाले,
हेप्द चेप्दा चुप बस्नाले, हिमचुली झूक्यो अरे ।

खिचातानी दाजुभाईमा, अंशबन्डा मिल्या छैन,
देख्दा सुन्दा घर झगडा, सधियारी भुक्यो अरे ।

छैन यहाँ न्याय निसाफ, अन्याएकै राज चल्छ,
त्यसैले त हाम्रो देशमा, न्याय कतै लुक्यो अरे ।

संकटमा छिन् रे नेपाल, अब हामी जानै पर्छ,
सम्पदामा आँखा लगाई, शत्रु मौका ढुक्यो अरे ॥

रचनाकाल : ०२ नोभेम्बर २०१०

दोहा कतार ।


0 comments

Post a Comment