गजल

माया गर्ने बहानामा फसाएको याद आयो,
मुटूमाथि तिम्ले छुरा धसाएको याद आयो ।

यता दुख्दा त्यता पनि परेलीमा बर्षा हुन्थे,
नयन तिम्रो बनावटी रसाएको याद आयो ।

सयौ जूनी मेरै भन्दै अर्कैसँग नाता जोडि,
बस्तिभरि सारा बैरी हसाएको याद आयो ।

जिन्दगीको गोरेटोमा सपनाको गला रेटी,
भीरमै लगि धकेलेर खसाएको याद आयो ।

अभिनय चार्तुयता मान्नैपर्छ महान थियो,
भरे आउछु पर्खभन्दै बसाएको याद आयो ।।

0 comments

Post a Comment