उस्को डायरी
मिति :-...............................
आँसु पिएर बाँच्ने, बिवश मेरो कथा छ
जलेछु भित्र भित्रै, छाती भरी व्यथा छ ।
माथिका हरफले मेरै जीवन कहानी शब्द शब्दमा बोलेको छ । जिन्दगीलाई केस्रा केस्रामा केलाउदा आफैलाई सोध्न मन लाग्छ के ? यो पनि जिन्दगी हो र ? । भड्किन खोज्ने मनलाई बहलाउन 'सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवन' भन्न मन लाग्छ । सत्य हो सोचे जस्तो खोजे जस्तो जीवन हामी सबैको कहाँ हुन्छ र ? यदि सबैको जीवन सोचे जस्तै हुँदो हो त ! मान्छेहरु किन रुन्थे । सोचे जस्तो जीवन नभएकै कारण ! समय समयमा सुन्दैमा मुटू खाने घटनाहरु हाम्रो समाजमा घट्छ । सायद ! मैले अलिकति ढिला गरेको भए मपनि त्यस्ता खाले घटनाको रचनाकारमा आफ्नो नाम दर्ता गराउन पुग्ने थिए होला । घाउ बिनाको चोटमा भक्कानिदै मुटू दुखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेर आएको थियो । हुन त जीवन भोगाईसँग सन्तुष्ट नहुने सबैले देह त्याग गर्नै पर्छ भन्ने छैन । मेरो भोगाईले यस्तै भन्यो ।
स्वप्निल संसारमा औशीको कालो रात आउँदा मलाई त्यो बाटो प्यारो लागेको थियो । पटक, पटक मेरो आत्माले मलाई त्यहि बाटो हिड्न अभिप्रेरित गर्दथ्यो । जीवन देखी अधाएर भनौ या हार मानेर । मैले हिड्न खोजेको गोरेटो वास्तवमा गलत रहेछ । आज म आफैप्रति गर्व गर्छु । मैले त्यो पल सहि निर्णय लिन सकेकोमा । धन्यवाद दिन्छु मलाई त्यो पलमा साथ दिने मेरा आत्मिय मित्रलाई । कुरै कुरामा हितैषी मित्रले एकदिन भनेका थिए । आत्महत्या गर्नु त महापाप हो । मलाई पनि त्यस्तै लाग्यो । त्यसपछि बल्ल मेरो दोधारे मन काबुमा आयो । मैले गलत गर्नबाट आफूलाई जोगाए ।
मैले जित्नु पर्छ भन्ने मान्छेको स्वभाव हो । त्यो स्वभावबाट मपनि चोखो छैन । जित्नु पर्छ भन्ने लोभि चाहानाले मलाई पनि बेला बेलामा गाँजेकै हो । सबै मान्छेमा जित्ने चाहाना हुन्छ । तर जित्ने तरिका फरक । जाल झेल गरेर जित्छु भन्ने एक थरि छन् । अर्को थरि जाल झेल बिनाको जितलाई मात्र जित हो भन्छन् । वास्तवमा जाल झेल बिनाको जितनै सहि जित हो । यो जित परन्तु रहन्छ । मपनि जाल झेल बिनाको जित चाहान्थे । त्यो जितमा मेरो पसिनाको लगानी होस् । तर स्वार्थीहरुको बस्तिमा इमान्दारिता नचाहेरै मर्दो रहेछ । मेरो इमान्दारिदा बिस्कुन लागेको पल एकाएक आफैसँग हार्न पुगे । म हारेकै हो भन्ने लागेको थियो मलाई त्यो पल । वास्तवमा त्यो हार हार थिएन । मैले त्यहाँ हारेरपनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अबसर पाँए । मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहार भित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाँए । म अन्धा भक्तको लागि सुतेको मलाई जगाउने माध्य भयो ।
बलेको आगो ताप्ने जमातमा आफू चाहि आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मदा एक्लै मर्दापनि एक्लै जानु पर्ने रीत दुनियाँको । त्यसैले त जिन्दगीका मोडहरुमा कोहि कसैको साथ हुन्न । बनावटी र देखावटी साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सहि साथ जुरेको हुन्छ । सहि साथ जुर्नेहरु यहाँ हाँसेको छन् जितेका छन् । एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरु भित्र भित्रै दुखेका छन् । त्यस्ता साथहरु नभएकै बेश हो । जस्ले साथीमा हुनु पर्ने गुण बुझेको हुन्न । जस्ले साथीले निभाउनु पर्ने भुमिका निभाउन जानेको हुन्न । त्यो साथी साथी होईन जस्ले मौका मिल्दा आफ्नै साथीको आँखामा पर्दा हाल्ने काम गर्छ । साथी साथी बिचमा कहिलेपनि पर्दा हाल्नु हुन्न । हरेक कुराहरु खुला किताव सरह हुनुपर्छ । यदि यस्तो भयो भने मात्र त्यो साथ दिर्घायु रहन्छ । त्यो साथ सजिलै शिखरमा पुग्नेछ ।
मान्छेको जिन्दगी कर्कलाको पातको पानी रहेछ । कहिलेपनि यो स्थिर रहन जान्दैन । त्यसैले मान्छेका जीवनमा अनेकौ उतार चढावहरु आउँछ । त्यसको सामना गर्नु नगर्नु हाम्रै हातको कुरा हो । बुझेर बुझ्नै सकिन्न हामीले हाम्रो जिन्दगी । जिन्दगीलाई खोज्दा खोज्दै हामी एकदिन थलो पर्छौ । यस्को कुनै निश्चित आकार छैन । आकार हुने भए पो यस्लाई बुझ्न र देख्न सकिन्थ्यो । त्यसैले त होला मान्छेको जिन्दगी रहस्यमय भोगाई बनेको । हरेक मोडमा दोबाटा छन् । कुन चाँही बाटोले सहि गन्तव्यमा पुर् याउछ चिन्न सक्नु नसक्नु हाम्रै कमजोरी हो । आज जतिपनि परिवर्तन भएका छन् त्यो सब समयको माग बुझेर आफूलाई सहि बाटोमा हिडाउन सक्नेहरु बाटै भएका छन् । जस्ले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझे सहि गन्तव्य चिने । आफूलाई सहि प्रयोग गर्न जानेकै कारण उनीहरुले जिते सधै जित्नेछन् ।
जन्मेपछि एकदिन हामीले मर्नु पर्छ । मान्छे भएर जन्मेपछि 'बाँचेर मर्ने होइन मरेरपनि बाँच्नुपर्छ' । जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ । जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौ । हामीले मरेरपनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौ । मरेरपनि बाँच्न आफ्नो मनलाई बशमा राख्नु जरुरी छ । स्वार्थबाट मुक्त हुन जरुरी छ । जालझेल र पाप कर्मबाट बच्न जरुरी छ । फूलको आँखाले संसार नियाल्नु जरुरी छ । सुन्दर फूल गुलावपनि त काँडै काँडा बिच फूलेको हुन्छ । बिना शर्त बिना स्वार्थ आफू काँडा बिच फूलेरपनि बगैचाको शोभा बढाउन उ तल्लिन छ । हामीले पनि गुलाव बन्ने कोशिष गर्नु पर्छ । सिक्काको दुई पाटा भए झै हाम्रो यात्राका हर मोडमा दुईटा बाटाहरु हुन्छन् । सुख, दुःख, हाँसो, आँसु, पाउने, गुमाउने, लुटाउने, लुट्ने, सहि, गलत । कुन चाँहि बाटो हामीले हिड्छौ त्यहि अनुसार हाम्रो स्थान हुनेछ । जीवनलाई केलाउदा मलाई त यस्तै लाग्यो ।
कागतीलाई निचोरे झै मैले पनि आफ्नो मनलाई निचोरे । बुझि नसक्नुको जिन्दगीलाई केहि बुझे जस्तो लाग्यो । बहकिन खोज्ने पापी मनलाई थम्थम्याउँदै फेरि सपनाको खेती गर्नुपर्छ भन्ने लाग्यो । 'सन्तोषम् परम् खुखम्' । आफ्नो साथमा जे छ, त्यसैमा सन्तोष मान्यो भने सदा सुखी र खुशी रहन सकिन्छ । आफूसँग जे जति छ त्यसैमा मनलाई बुझो लगाउन सक्नु बुद्धिमानी हो । यहाँका धेरै मानव मनहरु लुट्नमात्र खोज्छन् । हिजोका मेरा भोगाईहरु दशी बनेर मेरै वरिपरि चर्दैछन् । अब चाँही म साँच्चिकै ब्यूँझनु पर्ने भएकोछ । त्यो जमात भन्दा भिन्न रहेर अबको यात्रा तय गर्नु पर्नेछ । त्यसो गर्न सकेको खण्डमा मेरो यात्रा आरामदायी बन्ने निश्चित छ ।
यति मात्र लेख्न भ्याएको रहेछ । रोहन मेरो बाल्यकाल देखिकै मिल्ने साथी हो । धुलो माटो खेल्ने देखि लिएर कलेजसम्मका घुम्तिहरु सँगै पार गर्यौ हामीले । कलेज जीवनपछिको जागिरे जीवनले हामीलाई छुट्याएको हो । हामीले गरि खाने ठाँउ अलग भएकोले हाम्रो भेट पात्लिन थालेको थियो । त्यसो हुनु हाम्रो रहर होईन वाध्यता थियो । हाम्रो घर नजिकै भएपनि केहि दिन यता भेट भएको थिएन । उ सँगको पछिल्लो भेटमा उ केहि बदलिए जस्तो अनुभव गरेको थिए । सधै हाँसेर बोल्ने मेरा हितैषी मित्र गंम्भिर मुद्रामा बसेको थियो । मलाई लाग्यो कार्यालयको कामले होला । तर म गलत रहेछु त्यो बेला । उस्लाई केही भएको छ । डायरीमा देह त्याग सम्मको कुरा रहेछ तर कारण थाहा भएन । डायरीको बारेमा मैले कुरा राख्ने हिक्मत बटुल्न सकिन ।
उस्लाई भेट्न गएको बेला उ घरमा थिएन । आईहाले एकछिन कुरेर, भेटेरै जान्छु सोचे । उस्को कोठामा छिर्न साथ मेरो नजर डायरीमा पर्यो । मैले डायरीको पन्ना पल्टाए । डायरी भित्र कैद भएका अक्षरहरुले मलाई दुखायो । यतिका बर्ष सँगै खाई, खेली गरेको मित्रले यो बारेमा किन बताएन । के कारण होला । जागिरे जीवनसँगै उस्लेपनि मलाई सौतेलो व्यवहार गरेकै हो त ? । मेरो साथी त्यति कठिन मोडमा पुग्दापनि म चाँहि किन बेखबर भए त । म हैरान भए, मेरो मित्रलाई कस्ले ? यो हालतमा पुर् यायो । आँखामा राख्दापनि नविजाउने रोहन खै कस्को ? आँखामा विजाउन पुग्यो । यहि कुराले रातभरि निदाउन सकिन । मेरो मनमा अनेको शंका, उपशंकाले बालुवाको घर बनाए । म अझैपनि दोधारमा छु । कसरी ? उस्लाई डायरीको बारेमा कुरा राखु ।
0 comments