परदेश र दशैं

हिजो झै लाग्छ परदेश लागेको ! औला भाँच्दै गनेको त आठ साल पो भएछ पराईको देशमा मजदुरी गरेको पनि । यो दशैंसम्म जोडेर सातौ दशैं पुगेछ मैले प्रवासमै मनाएको । भोलीको समुन्नत जिन्दगीका परिकल्पनामा डुब्ने मनको तिर्खा मेट्न परदेश लागियो । प्रवासमा वितेका आठ बर्षलाई केलाउदा मलाई लाग्छ मैले आठ बर्ष पहिले लिएको निर्णय गलत थियो । गलत नहोस पनि कसरी विगतका दिनहरुमा मैले धेरै गुमाउन पुगेछु । मैले कल्पना सम्म नगरेको घटनाहरु मेरो जीवनमा घटेका छन् । सायद परदेश नलागेको भए यो सब हुने थिएन जस्तो लाग्छ । नहुने भै हाल्यो वितेका कुरा सम्झदै मुटू दुखाई बस्नु उचित होईन भन्न थालेको मेरो मनले अचेल । म दुख्दैमा मैले के गुमाए त्यो फर्केर आउदैन । यो सत्यतालाई भुलेर पाउने आशामा रुमलिनु मेरो मूर्खता सिवाए अरु केही हुने छैन । तसर्थ मैले हिजोलाई भूलेर आज नयाँ जीवनको सपनाहरु तुन्दै रंगीन दुनियाँमा हराउन थालेकोछु । मेरो भोलि मैले सोचे जस्तै बनाउनका खातिर अझै दुई बर्ष प्रवासमा खर्चने निर्णय लिएको छु ।
हिजो दशैंको दशौ दिन अर्थात विजया दशमी ! मैले मेरो परिवार तथा मान्यजनहरुलाई बेस्सरी सम्झे । फोनबाटै भएपनि उहाँहरुको आशिष थापु लाग्यो । कामबाट अलिकति फुस्रद मिल्न साथ कल गर्थे तर कल लाग्दैनथ्यो फेरी निरास बन्थे । यसरीनै मैले हिजोको जागिर पकाए । मेरो डियुटी पुरा भयो दिउसो एक बजे अनि लगातार कल गरि रहे । लामो समयको प्रयास पश्चात तीन बजेमात्र पो घरमा फोन लाग्यो । बाबासँग कुरा भयो आशिष दिनु भयो यो सालको टिकापनि मेरै तस्विरबाट सुरु गर्नु भएछ । छोरोको रोल क्रममा म जेठो भएकोले मेरो अनुपस्थितीमा मेरो तस्विरले टिका थाप्नु परेछ । धेरे साल भयो मेरो तस्विरले यसरी टिका थापेको । मलाई बाबाले यस्तो कुरा गर्नु भएको पल धेरै दुःख लाग्यो चार्डको बेला यसरी परदेशमा बस्नु परेकोमा । दुःख मान्नु सिवाए मैले अरु के नै गर्न सक्छु र किनकी मेरो आँखा अगाडी भोलीको सुन्दर भविस्य विस्कुन लागेको छ । खै कस्तो मन होला मेरो अनि यो कस्तो मृगतृष्णा मेरो ! यहि सम्झेर म धेरै पल्ट हैरान हुन्छु । कमाउने लालसाले मलाई जन्म दिनु हुने बाबा आमाको काखबाट अलग पारेको छ । डाँडामाथिका घाम झै हुनु भएको बाबा आमाको बुढेसकालको लाठी बन्न छाडेर म मेरो भोलिकालागि पर्देशमा मजदुरी गरि रहेको छु । पक्कैपनि यसो गर्नु एउटा असल छोराको कर्तव्य होईन ।
बाबाले फोन आमालाई दिनु भयो तर सम्पर्क टुट्न गयो । करिव दश मिनेटको प्रयास पछि मात्र सम्पर्क हुन सक्यो । आमासँग पनि कुरा भयो ! यसरी चार्डको बेलामा टाढा भएकोमा दुखेसो पोख्दै अर्को साल त हामी सबै परिवार सँगै बसेर दशै मनाउनु पर्छ है भन्नु भयो । यो सालको दशैं अर्को सालको आशमै भएपनि रमाईलोका साथ विताउन पाँउन भन्ने हेतुले आमालाई वचन दिए ! हुन्छ अर्को साल त पक्का आउछु । खै अर्को साल के हुने हो मलाई अर्को साल दशैंमा घर जान साईत जुर्ने हो वा होईन । आमासँगको कुरा बिट मारेपछि भतिजसँग कुरा भयो । यो सालको दशैंमा मैले बुनेलाई धेरै सम्झे ! बुनेसँग मेरो सम्पर्क हुन सकेन । बुनु दशैं रमाईलो गरि मनाउ ल यो मनभरि मायाँ छ तर तिमीसँग सम्पर्क गर्ने भर पर्दो माध्यम भएन । दुःखी छु अतिनै महान पर्वको समयमा सम्पर्क विहिन रहनु पर्दा ।
दशैंको अवसरमा आफन्तसँग भेटघाट कार्यक्रमको अन्त्यतिर नानु अनलाईनमा आईन् । निधारमा रातो टिका शीरमा जमरा चौबन्दी चोली र हातमा चाँदीका चुराले सजिएकी नानु मेरो अगाडी पर्दा हर्षले यो मन गद गद भयो । नानुपनि म जस्तै देश बाहिर छिन् ! तर पनि नानुले परदेशमा आफ्नो संस्कृतीलाई जोगाई राखेकी रहिछिन् मलाई त बेहद खुशी लाग्यो । नानुसँग आधा घन्टा अनलाईनमा जमेर कुरा गरे । नानुलाई डिउटीमा पुग्नु पर्ने चटारोले गर्दा हाम्रो मनले नचाहेरै हामी छुटेयौ साँझ फेरि अनलाईनमा भेट्ने वाचाका साथ ।
समग्रमा यो सालको दशै रमाईलै लाग्यो । आफूले त मनाउन पाएन तर मेरो आफन्तले रमाईलो गरि दशै मनाएको जानाकारी पाँउदा मनभरि खुशीले ढलीमलि राज गर् यो । सोच्दैछु सायद अर्को साल त म पनि मेरो परिवारका साथ दशै मनाउन मेरो देश पुग्नेछु । भोलि आउने दशैहरु म मेरो परिवारका साथमा मनाउने छु भन्ने सपना आँखाभरि सजाउदै थिए ! कुन बेला निन्द्रा देवीको शरण पुगेछु थाहै भएन ।

0 comments

Post a Comment