बिर्खे

मेलापातमा बिर्खे विद्रोहको कुरा गथ्र्यो । मलाई अहिले हो जस्तो लाग्छ एकदिन गाई बाख्राको गस्तिमा जाँदा भन्दै थियो अब ठूले हामीले चुप बस्नु हुन्न । हाम्रा बाउ बाजेले चुप बसेकै कारण आज हाम्रो यो गति भएको छ । हामीपनि चुप बस्ने हो भने भोलि हाम्रा सन्तानलाई बाँच्न गारो हुन्छ त्यसैले अब हामीले मुक्तिकोलागि लड्नु पर्छ । मेलापात वनपाखा गर्दा गर्दै एकदिन बिर्खे हराएको खवर गाँउभरि छताछुल्ल पोखियो । कसैले भने बिर्खे सुनकोशीमा डुब्यो कसैले भने बिर्खे मुग्लान पस्यो कसैले भने बिर्खे त मुक्तिकालागि लड्न गयो । फरक मान्छे फरक अन्दाज तर बिर्खे गाँउबाट हरायो । हराउने त हरायो कहाँ हरायो तर पल्लाघरे माईला बाले पाउनु सम्मको सास्ती पाए । एकातिर बुढैलीको सहारा बेखबर अर्कोतिर सेना पुलिसको हप्किदप्की साथमा थुप्रै यातनापनि । मलाई अझै सम्झना छ चाउरीएका माईला बाका गालामा सेनाको थप्पड पर्दा आगनमै गल्र्याम्म ढल्नु भएको गलहत्याउदै वेश क्याम्पसम्म लगेको अनि केहि दिनपछि तारिखमा छाडेको ।
एकदिनको कुरा हो म त गाई बाख्राको गस्तिमा थिए । परबाट एकहुल मान्छेहरु जंगलको बाटो हुदै बेशीतिर झर्दै थिए ! त्यो हुलमा हाम्रो बिर्खेपनि रहेछ । मलाई देख्न साथ बिर्खेले आफ्ना पाईला म भएतिर बढायो । मेरो छेउ सालको बुट्टामा अढेस लाग्दै भन्यो हेर ठुले म त हिडे मुक्तिको लागि लड्न । आज हामी पारी डाँडामा दुस्मनको किल्ला तोड्न जाँदैछौ । ठुले हाम्रो जीत हुनेछ हामी दुस्मनको ढाडमा टेकेर टाउकोमा प्रहार गर्दैछौ । दुस्मन हामी भन्दा धेरै गुणाले कमजोर छ उ केहि ठुला भनाउदा तानाशाहहरुको बलबुटोमा टिकेको छ हामीसँग त हजारौ शोषित पिडित नेपाली जनताहरुको साथ र आर्शिवाद छ । हामी जित्नेछौ अब छिट्टै देशलाई परिवर्तनको अग्रगामी दिशातर्फ मोड्नेछौ । मसँग यति कुरा गरि सक्दा उस्का साथीहरु धेरै तल पुगि सकेका थिए त्यसैले उस्ले हतारिदै भन्यो ठुले अब म जान्छु मलाई बेर भयो । यसो गारो सारो परेको बेला मेरो घरतिर हेर्दै गर ल ठुले भन्दै बाटो ततायो । उ त गयो नयाँ जोशका साथ जित्ने विश्वासका साथ तर मेरो मनमिथ¨लमा धेरै कुराहरुले उदुम मचायो । किन बिर्खे आफ्नै दाजुभाईलाई दुस्मन भन्दैछ के बिर्खेले चलाएको गोलीले अर्को भाईको छाती छिचोल्दा बिर्खेको विजय हुन्छ त हे भगवान आजको रात कति आमाहरु निसन्तान हुने होलान् कति दिदी बहिनीहरुको सिन्दुर पुछिने होला यहि कुराले मलाई रातभरि निदाउन दिएन ।
बिर्खे मेलापात वनपाखामा दोहोरी खेल्न विद्रोहको कुरा गर्न त्यसपछि कहिल्यै आएन । बिर्खेसँगको त्यो भेटनै अन्तिम भेट बन्न गयो । उ बस्ने लोक र हामी बस्ने लोकनै फरक भए । बिर्खेले मसँग छुटेको रात शहादत प्राप्त गरेछ भन्ने खवर आयो । बिर्खेले आफ्नो ज्यानको आहुती दियो उस्ले सहि गर् यो या गलत तर बिर्खेको बलिदानमा उस्को घरपविार अतिनै मर्माहत भए किनकि माईला बाको टेक्ने लौरो भाँचिन पुगेको थियो । दुखद त्यो घडिमा बिर्खेका सहयात्रीहरु नओइरिएका होईनन सान्त्वनाका पोका बोकेर । सान्त्वनाले मात्र त माईला बाको चुलो जल्न सम्भव थिएन । बिर्खेकै बलबुटोले त्यो घरको चुलो जलेको थियो साँझ विहान । बिर्खे गयो साथमा बुढा बाआमाको गाँसपनि लग्यो । बिर्खे निष्ठुरी हो या बिर्खेको प्राण लिने बन्दुकको गोली या बिर्खेलाई नचाउने समय हो निष्ठुरी यस्तै सवालको जवाफ खोज्न मेरो मन भड्कि रहे । आज भन्दा भोलि भन्दा बिर्खेलाई गुमाउनु पर्दा चोटहरु क्रमश टाम्सिदै जान थाल्यो ।
बिर्खेले हामीलाई छाडेर गएको पनि पाँच बर्ष पो भएछ । मलाई त हिजो सम्म बिर्खे हामीसँगै मेलापात वनपाखा गर्दै थियो जस्तो लाग्दैछ । पाँच बर्ष पछि आज मलाई बिर्खेसँग केहि भनु लागेको छ । बिर्खे तिम्रो आहुती माटोमा मिल्यो तिमीले हार् यौ बिर्खे हार् यो । खै तिमीले मेलापात अनि वनपाखामा फलाकेको जस्तो परिवर्तन अनि मुक्ति । मलाई लाग्छ बिर्खे हिजोको भन्दा झन आज देश भयावह बनेको छ । हेर त महंगीले सगरमाथा छोएको अनि त्यतिकै साथ दिदैछ िहंसा हत्यालेपनि । देशमा परिवर्तन ल्याउछु नयाँ नेपाल बनाउछु भन्नेहरु कुर्चीको लागि लड्दै छन एउटा कुर्चीको भाग बण्डा लगाउदै छन् अब तेरो पालो पुग्यो म बस्छु भन्छन् यस्ताहरुबाट तिम्रो सपना पुरा होला त । के तिमीले चाहेको परिवर्तन यहि थियो यो दिनकै लागि तिमीले कयौ भाईको प्राण लिएको कयौ आमाको कोख रित्याएको कयौ दिदी बहिनीको सिउँदो पुछेको यदि होईन भने आउ बिर्खे आउ तिमीले दिएको बलिदानको हिसाब माग तिमीलाई युद्ध मोर्चामा हुम्याउनेहरु सँग ।

0 comments

Post a Comment