एउटा पत्र
मेरी मनकी रानी काली,
छोटो जिन्दगीको लामो सम्झना अनि मुटुभरिको मायाँ मात्र तिमीलाई ।
काली खै कसरी सुरु गरौ तिमीबाट तिरस्कृत मनका भावनालाई म । तिम्रो नजरबाट नियाल्दा मबाट ठुलो भुल भएको छ । तर म भएर नियाल्यौ भने अनि मेरो विवशता र वाध्यतालाई नजिकबाट केलायौ भने मात्र मेरो जीवनको यथार्थ थाहा पाउनेछौ । हुन त तिमीलाई यो सब गर्न कहाँ फुर्सद छ र हगि ? त्यसैले तिमीले लगाएको आरोपलाई मैले नचाहेर पनि स्विकार्नु सिवाए मेरो अर्को विकल्प छैन । काली तिमीले लगाएको आरोपलाई शिरोपर गरेर जीउन कठिन छ तर के गर्ने जीउनको लागि त स्विकार्नै पर्ने रहेछ ।
काली तिमीनै भन के मैले जीउनको लागि अर्को विकल्प खोज्नु गलत हो ? मलाई मायाँ गर्ने मेरो सुख दु:खमा साथ दिने सहयात्री खोज्नु मेरो भुल हो ? यदि होइन भने म गलत छैन जसरी तिमीले सोचेकाछौ । जीउनका लागि एउटा असल सहयात्रीको आवश्यकता महसुस भयो खोज्ने क्रममा तिमीसँगको जम्का भेटले मलाई सान्त्वना मिलेको थियो किनकि मैले खोजेको सोचेको जस्तो सर्वगुण तिमीमा पाएको थिए । अनलाईनमा हाम्रो भेटमा हुने संम्वादमा तिम्रो हरेक शव्दले मेरो मन छुन्थ्यो । तिमीसँग घन्टौ सम्म कुरा गरि बसौ लाग्थ्यो । तिमीसँगको भेटले मेरो जीवनमा नौलो आयाम थपेको कुरालाई म नकार्न सक्दिन । तिम्रो सरलता, कोमलता अनि निश्छल मनको कारणले होला तिमी मेरो मन भित्र छोटो समयमा नै राज गर्न सफल भयौ । समग्रमा भन्नु पर्दा मेरो सपना, चाहना अनि अन्तिम लक्ष्य तिमी बनेकी थियौ । तर मेरो दुर्भाग्य तिमीसँग आजीवन सहयात्रा गर्ने चाहना सपना मै सिमित भयो । काली म कति अभागी छु हगि ? वाध्यता र विवशताको जीवनबाट मुक्ति पाउनका लागि तिम्रो साथ रोजेको थिए तर म असफल भए । जस्को परिणाम म फेरि उहि पुरानो उराठ अनि खण्डहर जीवनमा नै फर्किन वाध्य भए । कसैको साथ छ तर म एक्लो छु । म किन एक्लो छु त्यस बारेमा त तिमीलाई भनि रहनु नपर्ला तिमीलाई राम्रो सँग थाहा छ म किन एक्लो छु । मेरो चोखो मायाँ र विश्वासको बदलामा मैले के पाएकोछु त्यो तिमीले मुल्याङ्कन गरेकीछौ । काली तिमीले सहि भन्यौ म पुरुष भएरपनि पुरुषार्थ देखाउन नसक्नु मेरो कमजोरी हो । समयमा नै मैले सहि निर्णय लिन नसकेकै कारण आज म मरुभुमीमा पानीको खोजि गर्दै भौतारीन विवश छु । तिम्रो लागि दुनियाँ त्याग्न सक्ने आदम्य साहस माथि नियतिले छ्ल गरेकोले मैले हार्नु परेको हो । काली मैले जीवनका हरेक मोडमा हारेकोछु अब त बानी परि सक्यो । हिजो पनि हारेको भोलि जित्छु भन्ने भरोषापनि छैन किनकि म रित्ति सकेको छु । जित्नका लागि त आशा, सपना, विश्वास अनि लक्ष्य हुनुपर्छ यो सब मसँग छैन । काली तिमीले ठिक गरेकी छौ भोलिको बाँकि यात्रालाई दुर्घटना हुनबाट बचायौ । सायद म तिमीले खोजेको सोचेको जस्तो खुशी तिमीलाई दिन असफल हुन्थे होला । एउटा असफल मान्छेको साथमा अभाव बाहेक अरु के नै हुन्छ र हगि ? । त्यसैले म तिमीलाई मेरो खुशीको लागि तिम्रो खुशीको बलिदान देउ भन्दिन । यथार्थमा म जीवन देखि थाकि सकेको छु । आफन्तकै घातले मलाई गलाएको छ । काली तिमी विना म सदा अधुरो रहनेछु यो ध्रुव सत्य हो । तर पनि काली हिजोका केहि पल तिमीले दिएको चोखो मायाँको सहारामा बाँकि जीवन चलाउने कोशिस गर्नेछु । म दुखेको पल मलाई मलहमपट्टी गरिदिने कोहि छैन तर त्यो पल म तिमीलाई सम्झौला मेरो जीवनमा पनि हिजो कोहि मसिहा बनेर आएकी थिई मैले उस्लाई सम्हाल्न सकेको भए म यसरी दुख्नु पर्ने थिएन भन्दै दुखेको मन बुझाउने कोशिस गरौला ।
अन्तमा काली मेरो लाचारीपनले तिम्रो कोमल मन दुखाएको छ । तिमीलाई धेरै हद सम्म विचल्लित बनाएको छ । यो सब अन्जानबश भयो यस्का लागि म दुई हात जोडेर माफि माग्छु । कुनै पल मैले मायाँ गरेको मान्छे हो भनेर मलाई माफ देउ ल ? । नचाहेर पनि हामी नदिका दुई किनारा भयौ । भोलिका हाम्रो गन्तव्य फरक भै सके । म जे जस्तो हालमा रहेपनि तिमी सदा हाँसि रहनु । अबका यात्रामा आउने हरेक चुनौतिको डटेर सामना गर्नु । म चाहन्छु अनि कामना गर्छु तिम्रो चारैतिर विजय होस् जयजयकार होस् ।
उहि मात्र तिमीलाई जन्मौ जन्म मायाँ गर्ने । चाहेरपनि तिम्रो हुन नसकेको अभागी भानु काले ।

0 comments